राकिटिकले छोडे बार्सिलोना, पूर्वक्लब सेभिया जादै
क्रोसियन मिडफिल्डर इभान राकिटिकले बार्सिलोना छोड्ने भएका छन् । राकिटिक ला लिगाकै अर्को क्लब सेभिया जाने निश्चित भएको छ । मिडिया रिपोर्टका अनुसार राकिटिकले आफ्नो पारिश्रमिकमा व्यापक कटौती गरेर सेभिया जाने निर्णय गरेका छन् । २०१४ मा सेभियाबाटै बार्सिलोना आएका राकिटिक फेरी सेभियानै फर्किन लागेका हुन् ।
राकिटिकले सेभियासँग २ बर्षको सम्झौता गर्ने बताइएको छ । बार्सिलोना र सेभिया सहमत भएपछि राकिटिकले अहिले सेभियामा मेडिकल गरिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । अहिले बार्सिलोनामा बार्षिक ९।६ मिलियन डलर पारिश्रमिक पाउने राकिटिकले सेभियामा बार्षिक ३।६ मिलियन डलर पर सिजन सम्झौता गर्ने तयारी गरेको बताइएको छ ।
बार्सिलोना आउनुअघि राकिटिकले सेभियामा तीन सिजनमा १४९ खेल खेलेर ३४ गोल समेत गरेका थिए । उनी बार्सिलोना आउनुअघि सेभियामा उनले युरोपा लिग जितेका थिए । बार्सिलोनामा ६ सिजन खेलेका राकिटिकले ३१० खेल खेल्दै ३६ गोल गरेका छन् । उनले बार्सिलोनाबाट चार ला लिगा, चार कोपा डेल रे, एक च्याम्पियन्स लिग र एक क्लब विश्वकपको उपाधि जितेका छन् ।






