द्विपक्षीय मुद्दामा छलफल हुने

नेपाल र भारतका प्रधानमन्त्रीबीच चार महिनामा संवाद भएको छ। कोभिड–१९ नियन्त्रणमा सहकार्य गर्नेबारे अप्रिलमा दुई देशका प्रधानमन्त्रीबीच संवादपछि शनिबार टेलिफोन कुराकानी भएको हो। भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोनमार्फत शुभकामना दिएका हुन्।
भारतले नेपाली भूमि समेटेर नक्सा जारी गरेपछि चिसिएको दुई देशको सम्बन्ध नेपालले पनि नक्सा सार्वजनिक गरेपछि संवादहीनतामा पुगेको थियो। दुई देशबीच राजनीतिक तहमा लामो समयदेखिको संवादहीनता तोड्दै प्रधानमन्त्री ओलीले शनिबार भारतीय समकक्षी मोदीलाई टेलिफोन गरेका हुन्।
दुई नेताबीचको टेलिफोन कुराकानीमा प्रधानमन्त्री ओलीले नेपाल–भारत अर्थपूर्ण द्धिपक्षीय सहयोगमा जोड दिएको परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसका अवसरमा छिमेकी मुलुकसँगको सम्बन्धमा जोड दिने मोदीको सम्बोधनको प्रशंसा गरेको विज्ञप्तिमा उल्लेख छ। दुवै प्रधानमन्त्री द्धिपक्षीय मुद्दाका विषयमा छलफललाई निरन्तरता दिन सहमत भएका छन्।
नेपालले भारत संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएकामा बधाई दिएको छ। नेपालले सुरक्षा परिषद्मा भारतलाई सहयोग गरेको थियो। भारतीय विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै दुई देशका प्रधानमन्त्रीबीच कोभिड–१९ नियन्त्रणका लागि मिलेर काम गर्ने सहमति भएको जनाएको छ। साथै भारतीय प्रधानमन्त्री मोदीले कोरोना महामारीमा भारत सरकारले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ। अन्नपूर्णपोष्टबाट