लास्कलाई हराउदै म्यानचेस्टर क्वाटरफाइनलमा

जनपत्र
२२ श्रावण २०७७, बिहीबार ०५:४८

अष्ट्रियन क्लब लास्कलाई दोस्रो लेगमा पनि पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा युनाइटेडले लास्कमाथि २–१ को पूनरागमन जित निकाल्दै समग्रमा ७–१ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । युनाइटेडको जितमा जेसे लिंगार्ड र एन्थोनी मार्सियलले गोल गरे । पाहुना टोलीका फिलिप वेइसिंगरले गरेको गोल सान्त्वना बन्यो । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलमा पाहुना टोली लास्कले खेलको १०औं मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । पहिलो हाफमा यसनाइटेडले बल पोजेसन राखेपनि गोलको उल्लेख्य आक्रमण बुन्न सकेको थिए ।

५५औं मिनेटमा फिलिपले गोल गर्दै लास्कलाई अग्रता दिलाए । पिटर मिचरलको कर्नरमा फिलिपले गोल गरेका थिए । तर, लास्कको त्यो अग्रता लामो समय टिकेन । ५७औं मिनेटमा जेसे लिंगार्डले गोल गर्दै युनाइटेडलाई खेलमा १–१ गोलको अवस्थामा ल्याए । हुवान माटाको पासमा लिंगाडले काउन्टर अट्याकमा गोलरक्षक एलेक्ससन्डरलाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।

बराबरीपछि लास्कले थप सुधारिएको खेल पस्केपनि युनाइटेडको बलियो रक्षापङ्ति तोड्न सकेन । ८८औं मिनेटमा माटाकै पासमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई खेलमा २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड विजयी भयो । अब युनाइटेडले क्वाटरफाइनलमा डेनमार्कको क्लब एफसी कोपेनहेगनको सामना गर्नेछ । कोपेनहेगनले बुधबार रासत नै भएको खेलमा टर्किस क्लब इस्तानबुल बसाकसेहिरलाई ३–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । कोपेनहेगनको जितमा जोनास वाइन्डले दुई तथा रासमस फल्कले एक गोल गरे । क्वाटरफाइनल १० अगस्टमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*