युभेन्टसको लज्जास्पद हार

जनपत्र
१५ श्रावण २०७७, बिहीबार ०५:५०

यो सिजनको इटालियन सिरी ‘ए’ च्याम्पियन बनेको युभेन्टसले लिग चरणको ३७औं खेलमा लज्जास्पद हार बेहोरेको छ ।बुधबार राति भएको खेलमा युभेन्टस घरेलु टोली काग्लिएरीसँग २–० ले पराजित भएको हो । युभेन्टसलाई हार चखाउन लुका गाग्लिएनो र जियोभानी सिमिओनले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

काग्लिएरीमा भएको खेलमा घरेलु टोलीले खेलको आठौं मिनेटमा लुका गाग्लिएनोको गोलबाट अग्रता बनाएको थियो । उनले फेडरिको माटिइलोको पासमा गोल गरेका थिए । त्यसअघि खेलको पाँचौ मिनेटमा युभेन्टसका क्रिस्टियानो रोनाल्डोको प्रहारलाई काग्लिएरीका गोलरक्षक एलेसियो क्राग्नोले विफल पारेका थिए ।

४०औं मिनेटमा जुआन कोर्डाडोको प्रहार पोस्टबाट थोरै बाहिरिदा युभेन्टस अग्रता लिनबाट चुकेको थियो । ४४औं मिनेटमा युभेन्टसले बराबरीको अर्को अवसर खेर फाल्यो । पहिलो हाफको इन्ज्युरी समयमा जियोभानीले गोल गर्दै काग्लिएरीको अग्रता दोब्बर पारे । उनले पहिलो गोल गरेका लुकाको पासमा गोल गर्न सफल भएका थिए । लगत्तै रोनल्डोको फ्रिकिकमा मिरालेम प्यानिचको प्रहारले पोस्टको दिशा लिन नसक्दा युभेन्टसले अग्रता घटाउने अवसर गुमाएको थियो ।

२–० ले पछि परेको युभेन्टसले दोस्रो हाफमा घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोलरक्षक क्राग्नो बाधक बने । ५४औं मिनेटमा सिमिओन मुराटोरको प्रहारलाई बचाएका क्राग्नोले ५५औं मिनेटमा एलेक्स सान्द्रोको उत्कृष्ट हेडरलाई उत्तिकै राम्रो बचाउ गरेका थिए । ७१औं मिनेटमा जियोभानीले गोल गर्ने अवसर गुमाए । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस स्तब्ध बन्न पुग्यो ।

यो हारले च्याम्पियन बनिसकेको युभेन्टसलाई अंक तालिकामा कुनै असर परेन । च्याम्पियन युभेन्टसको ३७ खेलबाट ८३ अंक रहेको छ । युभेन्टसलाई हराएको काग्लिएरी ४५ अंक जोडेर १३औं स्थनमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*