जहाँ लाखाैं कमाउनेलाई पनि गरिब भनिन्छ !
केही हजारको जागिर खाने साथीहरुलाई पनि नेपालमा भनिन्छ( तेरो त ह्यान्डसम स्यालरी छ यार, के गर्छस् यतिका पैसाले । झन्, महिनामा नै ६ डिजिटमा तलब खानेहरुलाई नेपालमा निकै धेरै पैसा कमाएको संज्ञा दिइएको हुन्छ । लाख रुपैयाँ तलब खानेलाई साथीभाइको सर्कल, समाज तथा परिवारमा पनि सफल मानिन्छ । तर, आश्चर्य के भने एउटा यस्तो सहर पनि छ जहाँ लाखौं कमाउनेलाई पनि गरिब भनिन्छ । यो सहर हो( अमेरिकाको सान फ्रान्सिस्को ।
यो कुनै फिक्सनल कथा भने होइन । अमेरिकाको आवासीय तथा शहरी विकास विभागले केही अघि सार्वजनिक गरेको रिपोर्ट हो । त्यो रिपोर्टका अनुसार सान फ्रान्सिस्को, सान माटियो तथा त्यसको वरपर बस्ने चार सदस्यीय परिवारले १ करोड २८ लाख रुपैयाँ कमायो भने त्यो परिवारलाई कम कमाइ भएको परिवार भनिन्छ ।
अझ कुनै परिवारको कमाइ ८० लाखमात्र रहेछ भने त्यो परिवारलाई त गरिबीको रेखामुनीको परिवार मानिन्छ । ब्रुकिङ इन्स्टिच्युटको वेबसाइटका अनुसार अमेरिकीहरुको कमाइमा निकै ठूलो भिन्नता छ । अमेरिकाकाको लगभग दुईतिहाई परिवारको कमाइ सान फ्रान्सिस्कोमा १ करोड कमाउने परिवारको भन्दा निकै कम छ । अमेरिकामा चार सदस्यको एक परिवारले वर्षमा औसत रुपमा ९६ लाखसम्म कमाइ गरेका हुन्छन् । अलिक धेरै सदस्य भएका परिवारको औसत कमाई ६४ लाख रुपैयाँ छ ।
३२ करोड ६० लाख जनसंख्या भएको अमेरिकामा अहिले पनि चार करोडभन्दा बढी मानिस गरिबीको रेखामुनी छन् । गरिबीको रेखामुनी भएका परिवारको कमाइ करिब ३२ लाख रुपैयाँ छ । तर, सान फ्रान्सिस्कोको कथा फरक छ । यो सहरमा आइटी र प्रविधि उद्योग निकै धेरै छन् ।
त्यसैले पनि त्यहाँका मानिसको कमाइ अन्य क्षेत्रको भन्दा बढी छ । सन् २००८ बाट २०१६ सम्म आइपुग्दा यो कमाइ २६ प्रतिशतले बढेको छ । कमाइ अत्यन्त राम्रो भए पनि यहाँको बसाइ तथा अन्य खर्च पनि बढी नै छ । सान फ्रान्सिस्कोमा बस्नेहरुले अमेरिकाका अन्य सहरमा बस्नेहरुको भन्दा २५ प्रतिशत बढी खर्च गर्ने रिपोर्टहरुले जनाउँछन् ।
( बिबिसीबाट