राखेप सदस्यसचिवका लागि तीन जना सिफारिस

जनपत्र
८ श्रावण २०७७, बिहीबार ०५:५७

राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवका लागि युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले तीन जनाको नाम बुधबार सिफारिस गरेको छ । समितिले युवा तथा खेलकुद मन्त्रालयमा सदस्यसचिवका लागि आवेदन दिएका २७ जनाबाट तीन जनाको नाम सिफारिस गरेको हो । जसमा निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवाल, नेकपाका केन्द्रीय सदस्य लीलबहादुर थापा मगर र राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान अन्जु श्रेष्ठ रहेका छन् ।

मन्त्रालयले सो नाम मन्त्रिपरिषद्मा पठाउने छ । मन्त्रिपरिषद्ले तीन जनामध्ये एक जना उपयुक्त व्यक्तिले चार वर्षका लागि सदस्यसचिवमा नियुक्त गर्ने खेलकुद विकास ऐन २०७७ मा उल्लेख छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिले ६ पटक बैठक बसेको थियो । समितिमा राष्ट्रिय खेलकुद परिषद्का पूर्व बोर्ड सदस्य इन्दिरा निरौला र परिषद्का पूर्वकर्मचारी रिम रानाभाट सदस्य छन् । राखेपको इतिहासमा पहिलोपटक आवेदन माग गरी सदस्यसचिव बन्न योग्य व्यक्तिको छनोट गरी सिफारिस गरिएको हो ।

खेलकुद विकास ऐन २०४८ मा सदस्यसचिवको असीमित अधिकारलाई नयाँ ऐनले साइजमा ल्याएको छ । राखेपको बोर्डले सदस्यसचिवको संयोजकत्वमा एक कार्यकारी समिति बनाउनेछ । सो समितिले अधिकांश कार्य गर्ने ऐनमा उल्लेख छ । पछिल्लो ऐनमा मन्त्रालयलाई समेत बलियो बनाइएको छ । जसका कारण अब बन्ने सदस्यसचिव मन्त्रालयप्रति पूर्ण जवाफदेही हुनुपर्नेछ । नयाँ ऐन लागू भएसँगै राखेपमा हाल युवा तथा खेलकुद मन्त्रालयको खेलकुद विकास महाशाखा प्रमुख भक्तबहादुर ढकाल कार्यवाहक सदस्यसचिवको जिम्मेवारीमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*