कोरोना असर : झण्डै ९७ लाख बालबालिका फेरि विद्यालय शिक्षामा फर्कन मुस्किल

जनपत्र
३० असार २०७७, मंगलवार ०६:३०

कोरोना भाइरस महामारीको कारण विद्यालयहरु बन्द रहेका कारण विश्वभर झण्डै ९७ लाख बालबालिका फेरि विद्यालय शिक्षामा फर्कन मुस्किल रहेको एक अध्ययनले देखाएको छ । सेभ द चिल्ड्रेनले यस घटनालाई ‘अभूतपूर्व शैक्षिक आपत्काल’ को संज्ञा दिएको छ ।

बेलायती सामाजिक संस्था सेभ द चिल्ड्रेनले युनेस्कोको तथ्याङ्क विश्लेषण गर्दै गएको अप्रिलमा विद्यालय र विश्वविद्यालयहरु बन्द रहेका कारण विश्वभरका एक अर्ब ६० करोड बालबालिका विद्यालय शिक्षाबाट बञ्चित रहेको जनाएको छ । यो सङ्ख्या विश्वको कुल विद्यार्थी सङ्ख्याको झण्डै ९० प्रतिशत हुन्छ ।

सेभ द चिल्ड्रेनको प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो मानव इतिहासमा विश्वभरका यति ठूलो सङ्ख्यामा बालबालिका पहिलो पटक विद्यालय शिक्षाबाट बञ्चित रहेका छन् ।’ अध्ययनका अनुसार कोरोना भाइरसको कारण उत्पन्न आर्थिक सङ्कटको कारण झण्डै नौ करोडदेखि ११ करोड ७० लाख बालिबालिका गरिबीको चक्रमा फस्नेछन् । यसको असर बालबालिकाको फेरि विद्यालय भर्नामा पर्नेछ ।

पारिवारिक समस्याको कारण धेरै बालबालिकाहरु काममा लाग्ने वा बालिकाहरुको चाँडो विवाह हुन सक्ने भन्दै प्रतिवेदनमा यही कारण ७० लाखदेखि ९७ लाख बालबालिकाले स्थायी रुपमै विद्यालय छाड्ने देखिन्छ । यस्तै यही सङ्कटको कारण सन् २०२१ को अन्त्यसम्ममा न्यून वा मध्यम आय भएका देशमा शिक्षाको बजेटमा झण्डै ७७ अर्ब डलरले कमी हुनेछ ।

सेभ द चिल्ड्रेनका कार्यकारी प्रमुख इन्गर आशिङले कोरोना महामारीको कारण झण्डै एक करोड बालबालिकाले स्कुल छाड्ने देखिएको बताए । उनले सरकार तथा दातृ निकायहरुले तत्कालै शिक्षामा लगानी बढाउनुको विकल्प नरहेकोमा जोड दिए ।

प्रतिवेदनमा विश्वका १२ वटा देशमा सर्वाधिक असर पर्ने उल्लेख छ । ती देशहरुमा नाइजर, माली, चाड, लाइबेरिया, अफगानिस्तान, गिनी, मौरीटानिया, यमन, नाइजेरिया, पाकिस्तान, सेनेगल र आइभरिकोस्ट रहेका छन् । उज्यालोबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*