बार्सिलोनाको जितसँगै रियलको अग्रता १ अंकमा झर्यो

जनपत्र
२८ असार २०७७, आईतवार ०६:३६

स्पेनिस ला लिगा अन्तर्गत क्याटलान क्लब बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गर्दै शीर्षस्थानको रियल म्याड्रिडसँगको दुरी १ अंकमा झारेको छ । बार्सिलोनाले भालाडोलिडको घरेलु मैदानमा १-० को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक हासिल गरेको हो । बार्सिलोनाको जितमा आर्टुरो भिडालले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो । उनले १५ औं मिनेटमा गोलको खाता खोलेका थिए ।

कप्तान लिओनेल मेस्सीले चलाखीपूर्ण ढंगले पेनाल्टी क्षेत्र नजिकबाट दिएको फ्लिक पासलाई भिडालले ६ यार्ड बक्स नजिकबाट दोस्रो बारतर्फ गरेको प्रहार पोस्टमा लाग्दै गोलमा परिणत भएको थियो । पहिलो हाफमा नै एन्टोइन ग्रिजमनले नेल्सन सेमेडोको क्रसमा गोल गर्न नसक्दा बार्सिलोनाले अग्रता बढाउन सकेन ।

दोस्रो हाफमा बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले केहि राम्रो बचाउ गर्दै बार्सिलोनालाई अग्रतामा राखेका थिए । फरवार्ड लुइस सुआरेजले पनि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै प्रभाव जमाउन खोजेपनि पाएको अवसरको सदुपयोग गर्न सकेनन् । जितसँगै बार्सिलोनाले ३६ खेलमा ७९ अंक बनाएको छ । एक खेल कम खेलेको रियल म्याड्रिडको ८० अंक रहेको छ । रियलले सोमबार हुने खेलमा ग्रानडाको सामना गर्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*