प्रधानमन्त्री भन्छन्- मेरो ध्यान आमनागरिकको जीवनरक्षामा केन्द्रित छ
सरकारले बाढी तथा पहिरोबाट प्रभावितहरुको उद्धारमा आवश्यक सुरक्षाकर्मी परिचालित गरिसकेको जनाएको छ। प्रधानमन्त्री केपी ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै संघीय, प्रदेश र जिल्लास्थित विपद् समितिबाट राहत प्रदान गरिएको र प्रभावितलाई जोखिममुक्त स्थानमा स्थानान्तरण गर्नेसमेत व्यवस्था मिलाइएको बताएका हुन्।
उनले असुरक्षित बसोबासका स्थानहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा विपद् न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने जस्ता कार्यक्रम पनि सँगसँगै भइरहेको बताए। जोखिम मोलेर सेना, प्रहरी, कर्मचारी तथा सिंगो सरकारी संयन्त्र र सम्बद्ध निकायहरु बाढी पहिरो सुरु भएदेखि नै तत्परताका साथ उद्धार र सहयोग कार्यमा जुट्दै आएको प्रधानमन्त्रीले बताए।
उनले भने, ‘यतिबेला मेरो ध्यान आमनागरिकको जीवनरक्षामा केन्द्रित छ। हामीले महामारी र प्राकृतिक विपत्तिप्रति खेलवाड गरेर महाविपत्ति निम्त्याउन किमार्थ पनि मिल्दैन।’ उनले सरकारका तीनवटै तह, जनप्रतिनिधि, राजनीतिक नेता, कार्यकर्ताहरु एकजुट भएर सम्भव सबै प्रकारका उद्धार, सहयोग र तत्काल उपचारको कामलाई प्रभावकारी रुपमा अघि बढाउन निर्देशन दिएका छन्।