प्रदेश २ सरकारले बजेटमा समेटेन खेलकुद
प्रदेश २ सरकारले असार १ गते प्रस्तुत गरेको बजेटमा खेलकुद क्षेत्र समेटिएको छैन । खेलकुद आधारभूत आवश्यकता भए पनि सरकारले ल्याएको ३३ अर्बभन्दा बढीको बजेटमा पर्न सकेन । ‘बजेटमा खेलकुदमैत्री पूर्वाधार विकास गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गरी समग्र खेलकुद क्षेत्रको विकास गरिनेछ’ लेखिए पनि त्यसअनुरूप बजेट भने विनियोजन गरिएको छैन ।
युवावर्गको सर्वांगीण विकासका लागि खेलकुदको महŒवपूर्ण भूमिका हुन्छ । तर, प्रदेशको बजेटले यस क्षेत्रलाई बजेटको व्यवस्था नगर्नु दुःखद रहेको सरोकारवालाको भनाइ छ । प्रदेशसभामा सोमवार बजेटमाथिको छलफलमा बोल्दै मञ्जुकुमारी यादवले सरकारले मानिसको आधारभूत आवश्यकताको बजेट कटौती गरेको भन्दै आपत्ति व्यक्त गरेकी छिन् । प्रदेशको गौरवशाली खेल कुस्ती रहेको भन्दै बजेट भाषणमा यो शब्द समेत उच्चारण नहुनु विडम्बना भएको टिप्पणी उनले गरिन् ।
सरकारले कोरोनाको बहानामा अत्यावश्यक क्षेत्रको बजेट कटौती गरेको उनले औंल्याइन् । यस्तै जिल्ला खेलकुद विकास समिति धनुषाका अध्यक्ष कमलकिशोर चौधरीले सरकारले खेल क्षेत्रको बजेट कटौती गरेर खेल जगत्लाई निरुत्साहित पारेको बताए । ‘पहिला खेलकुद क्षेत्रको विकासका कुरा केन्द्रको बजेटमा मात्र निर्भर हुन्थ्यो,’ उनले भने, ‘तर, अहिले प्रदेश सरकारले समेत खेलकुद क्षेत्रलाई उपेक्षा गर्दै आएको छ ।’
विगतमा पनि खेलकुद क्षेत्रमा प्रदेश सरकारले कुनै लगानी नगरेको आरोप चौधरीको छ । ‘खेलकुद क्षेत्रमा भविष्य नदेखेपछि थुप्रै प्रतिभाशाली खेलाडी पलायन हुन लागेका छन्,’ उनले भने, ‘अहिले पनि खेलकुद क्षेत्रको विकास गर्ने पर्याप्त सम्भावना छ । हामीसँग निकै क्षमतावान् खेलाडी छन् । तर सरकारको प्रोत्साहन नपाउने हो भने अघि बढ्न समस्या हुन्छ ।’ अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि खेलकुद क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि बजेट विनियोजन गरिनुपर्ने उनको तर्क छ ।
सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख महेन्द्र महतोले खेलकुद क्षेत्रलाई बजेटमा समावेश गर्न महाशाखाबाट सुझाव दिइए पनि कार्यान्वयन नभएको बताए । महतोले भने, ‘बजेटमा किन खेलकुदका कार्यक्रम समावेश गरिएन, थाहा भएन । हामीले त समावेश गर्न सुझाव दिएका थियौं ।’ यस विषयमा बुझ्न सामाजिक विकासमन्त्री नवलकिशोर साहसँग पटकपटक सम्पर्क गर्न खोजे पनि उनी अस्वस्थ रहेको जवाफ फर्काइयो ।अभियानडेलीबाट