नेकपाको स्थायी समिति बैठक आज बस्दै

जनपत्र
१० असार २०७७, बुधबार ०६:०२

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को स्थायी समिति बैठक आज बस्ने भएको छ । बुधवार ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ विवाद तथा अन्य समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ । यसअघि दुईपटक मिति तोकेर पनि स्थायी समिति बैठक स्थगित भएको थियो । पार्टी विधानमा कम्तीमा १ सातामा एकपटक सचिवालय बैठक बस्ने व्यवस्था भए पनि जेठ १७ यता सचिवालयको बैठक बस्न सकेको छैन ।

नेकपाले कोभिड–१९ को महामारी र लकडाउनको कारण देखाउँदै बैठक स्थगित गरेको थियो । तर खासगरी एमसीसीको बारेमा दलभित्र सहमति जुट्न नसक्दा मिति तोकेर पनि बैठक बस्न नसकेको हो । एमसीसीबारे पार्टीभित्र दुई धार स्पष्ट देखिएकाले यसलाई पार्टीभित्रबाट सर्वसम्मत गराउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाह्रो परिरहेको छ । प्रधानमन्त्रीले एमसीसीबारे नबुझी टिप्पणी गरिएको भन्दै आफ्ना पार्टीका सांसद तथा एमसीसीको विरोध गर्ने अन्य सांसदलाई एमसीसीमा भएका प्रावधान अध्ययन गर्न सदनमा पटक पटक आग्रह गर्नुभएको थियो ।

यद्यपि बैठकका एजेण्डाबारे भने मंगलवार साँझसम्म सदस्यहरूलाई कुनै जानकारी नदिइएको नेताहरूले बताएका छन् । एजेण्डाबारे कुनै जानकारी नआए पनि कोरोना महामारी, एमसीसी लगायत विषयमा बैठकमा छलफल हुने नेकपा स्थायी समितिका सदस्य वेदुराम भुसालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*