कोरोना संक्रमण पछि बागमती प्रदेश सरकारले गर्नैपर्ने काम
परिस्थितिको सामान्य अवलोकन
कोरोना (कोभिड–१९) रोगको संक्रमण भएपछि सिंगो विश्व ठूलो समस्यामा परेको छ । यसबाट हाम्रो समाजपनि प्रभावित भएको छ । यो रोगको रोकथामका निमित्त देश बन्दाबन्दीको अवस्थामा छ । आर्थिक मन्दी, रोजगारीको न्यूनता, महंगी, अभाव, जस्ता समस्याहरु उत्पन्न हुने अवस्था बन्दै गएको छ । यतिबेला हामीले निर्माण गरेका कानून, नीति, नियम, संरचना आदिको समिक्षा गर्नुपर्ने अवस्था हाम्रो सामु छ ।
यो रोग कायम रहेको आजको अवस्था, यसले विकराल महामारीको रुप लिन सक्ने सम्भावना र रोग समाप्त भएपछि त्यसले उत्पन्न गर्न सक्ने समस्याकाबारेमा अहिलेनै उपयुक्त आकलन र विश्लेषण गर्न आवश्यक छ । आगामी दिनमा उत्पन्न हुन सक्ने चुनौतीलाई सम्बोधन गर्न नसकिए त्यसबाट हाम्रो समाज अस्थिर र असान्त हुन सक्नेछ । विघटन र विद्रोह उन्मुख हुन सक्ने छ । यस्तो अवस्थामा हामीले निर्माण गरेका राजनीतिक संरचना र स्वरुप, संविधान, समृद्धिको यात्रा र समाजवाद प्राप्त गर्ने लक्ष्य निश्चयनै प्रभावित हुनेछन् । देशलाई यो अवस्थामा जानबाट रोक्नु अनिर्वाय छ ।
सकारात्मक पक्ष
हरेक चुनौती संगसंगै संभावनापनि हुने कुरा भुल्नु हुँदैन । अहिलेसम्म यो रोग हाम्रो देशमा महामारीको अवस्थामा पुगेको छैन । हाम्रालागि यो धेरै सकारात्मक पक्ष हो । यो रोग उत्पन्न भएपछि निर्माण भएको नयाँ अवस्थालाई हामीले अग्रगतीकानिम्ति एउटा सम्भावना र अवसरकोरुपमा समेत उपभोग गर्न सकिने परिस्थिति छ ।
सम्भावना र अवसरको चर्चा गर्दा देशमै केहि गर्नुपर्छ भन्ने भावना जनमानसमा बृद्धि हुने स्थिति छ । बाँझो रहेको जमिन उपयोग हुने अवस्था बन्ने छ । विदेशबाट फर्केका विभिन्न क्षेत्रमा ज्ञान र शिप भएको जनशक्ति प्राप्त हुन सक्नेछ । देश क्रमशः युवा विहिनताको अवस्था उन्मुख भैरकेकोमा यसबाट मुक्त हुन सक्नेछ । उपयुक्त योजना र नीति बनाउदा जमिन बन लगायतका श्रोतहरुको राम्रो उपयोग र त्यसबाट उत्पादन र रोजगारी सिर्जना हुन सक्नेछ ।
पर्यटनको नयाँ आयाम प्रारम्भ भएर पर्यटन प्रयोजनकालागि अन्य देश जाने प्रवृति कमजोर हुने र धार्मिक तथा आन्तरिक पर्यटन बढ्ने उत्तिकै सम्भावना छ । शिक्षामा प्राविधिक पक्षले महत्व प्राप्त गर्नेछ र रोजगारमूलक शीप सिक्ने प्रवृति बढ्नेछ । देशभित्रकै कच्चा पदार्थ प्रयोग हुने उद्योग खुल्ने र चल्ने छन् । स्थानिय स्तरमा सानासाना उद्योगहरु स्थापना हुने, पेशा व्यवसाय सञ्चालन हुने अवस्था बन्न सक्नेछ ।
कामै नगरी वा थोरै काम गरेर ठूलो प्रतिफल खोज्ने प्रवृति दुरुत्साहित हुन पुग्नेछ । यी सबै कारणले गर्दा देशको आन्तरिक उत्पादन बढ्ने र समयक्रममा खासखास क्षेत्रमा नेपाली समाज आत्मनिर्भर हुने अवस्था बन्नेछ । अनावश्यक र अनुत्पादक क्षेत्रमा सार्वजनिक रकम खर्चगर्ने प्रवृतिमा कमी आउनेछ । यस्तो अवस्था बनाउन सक्दा देशमा एउटा राष्ट्रिय आत्मविश्वासको वातावरण बन्न पुग्नेछ । देश निर्माणका निमित्त यस्तो आत्मविश्वास अत्यन्त महत्वपूर्ण हुन्छ ।
दिशानिर्देश गर्ने केहि पक्षहरु
यसैबेला संविधानले व्यवस्था गरे अनुसार सरकारले नीति–कार्यक्रम र बजेट तर्जुमा गर्ने समयपनि परेको छ । आर्थिक बर्ष २०७७-०७८ को नीति कार्यक्रम र बजेट तर्जुमा गर्दा ध्यान केन्द्रित गर्नुपर्ने केहि विषयहरुलाई यहा उल्लेख गरिएको छ ।
कोभिड– १९ को महामारीले देशलाई अल्पकालीन र दिर्घकालीन दुबैरुपमा गम्भिर असर पार्छ । यसको असर र प्रभावलाई आँकलन गरि त्यसलाई सम्बोधन गर्नु पर्दछ ।
आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटले विगतको परम्परालाई तोड्नु पर्छ र एउटा नयाँ दिशा निर्देश गर्नु पर्दछ ।
हाम्रो अर्थतन्त्रको मुल चरित्र आयातमुखी छ । हामीले वस्तु आयात गर्ने देशहरु आफैमा आर्थिक संकटमा पर्ने अवस्था छ ।त्यसैले हामीले अत्यावस्यक बस्तुहरु, खाद्यन्न, औषधी, लत्ताकपडा आदिको अभाव भोग्नुपर्ने छ । साथै रेमिट्यान्स घट्ने हुदा देशको क्रयशक्ति समेत घट्ने छ । यस्तो अवस्थामा हाम्रो प्रमुख ध्यान भोलि हुन सक्ने अवस्थातर्फ केन्द्रित हुनु पर्छ ।
कोरोना भाइरसको समस्या समाधान भएपछि संसारमा भोकमरि फैलने आंकलन गरिएको छ । यसबाट हाम्रोजस्तो खाद्यान्नमा परनिर्भर रहेको देशलाई प्रत्यक्ष प्रभाव पर्ने स्पष्ट छ । खाद्यान्नको हाहाकार, कालोबजारी, कृतिम अभाव, अत्यधिक मूल्य बृद्धि, लुटपाट जस्ता घटना घट्न सक्नेछन् । यो अवस्थाबाट बच्न खाद्यान्न लगायत अत्यावस्यक बस्तुहरुको व्यवस्थापन र भण्डारण गर्ने व्यवस्था गर्नु पर्दछ ।
हाम्रो समाजको प्रमुख समस्या बेरोजगारी हो । आगामी बर्षहरुमा दुई कारणले यो समस्या झन बढ्ने प्रबल संभावना छ । प्रथम, हाम्रा युवाहरु रोजगारीकालागि जुन जुन देशमा जाने गरेका छन् त्यहाँको अर्थतन्त्र कमजोर हुने कारणले तिनिहरुले रोजगारी दिन सक्ने छैनन् ।
त्यसैले अहिले जस्तो ति देशहरुमा रोजगारीमा जाने अवस्था कम वा बन्द नै हुनेछ । दोस्रो, बैदेशिक रोजगारीमा रहेका युवाहरु देश फर्कन बाध्य हुनेछन् । तत्कालकालागि यो अवस्था हाम्रोलागि प्रमुख चुनौती हुने निश्चित छ । त्यसैले हाम्रो प्रमुख ध्यान रोजगारी सिर्जनामा केन्द्रित हुनु पर्दछ ।
अबको बजेटको मूल दिशा उत्पादन बृद्धि, रोजगारी सिर्जना, आत्मनिर्भरता तथा समाजवाद उन्मुख हुनुपर्छ । यसका निमित्त निम्न क्षेत्रमा तपशील बमोजिमको काम गर्नुपर्छ । यो लेखको बाँकी अंश क्रमशः प्रकासीत हुनेछ ।
(लेखक बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री हुनुहुन्छ ।)







