चीनमा लकडाउनपछि खुलाइएका रेस्टुरेन्टमा ‘नक्कली मासु’ बिक्री !
लामो समयको लकडाउनपछि चीनले रेस्टुरेन्ट लगायत व्यवसायहरु खुलाएको छ । यस्तोमा रेस्टुरेन्टहरुले मासुको सट्टा खानेकुराको मेन्युमा शाकाहारी खाद्यान्नमा आधारित ‘फेक मिट’ अर्थात नक्कली मासु राख्न थालेका छन् । फेक मिट स्वादमा झन्डै मासु जस्तै हुन्छ तर सोयाबिन लगायत बिरुवामा आधारित उत्पादनबाट बनाइएको हुन्छ ।
कोरोना महामारीपछि चीनमा मासुको प्रतिस्थापनका रुपमा अन्य खानेकुराको माग बढिरहेकाले नै थुप्रै पश्चिमी ब्रान्डहरु बजार पाउने आशा गरिरहेका छन् । विश्वव्यापी ट्रेन्ड अनुरुप चीन पनि अब मासु बाहेक शाकाहारी खानेकुरामा बढी जोड दिनतर्फ लागिरहेको छ । अमेरिकी कम्पनी ‘बेयोन्ड मिट’ ले बुधबार मात्र चीनमा देशभरका हजारौँ स्टारबक्स क्याफे मार्फत सागसब्जीमा आधारित खानेकुरा विक्री गर्न सुरु गरेको हो ।
त्यस्तै अर्को प्रसिद्ध फास्ट फुड चेन, के।एफ।सी ले पनि यसै हप्तादेखि नक्कली मासुबाट बनाइएको ‘चिकेन नगेट्स’, कुखुराको मासु बेच्न सुरु गर्ने बताएको हो । कोरोना प्रकोपबाट बिस्तारै बाहिँरिदै आएको चीनमा अहिले धेरै मानिसहरु स्वस्थकर जीवनशैली अपनाउन खोजिरहेका छन् जसकारण पनि यो उपाय लाभदायक साबित हुने अपेक्षा गरिएको छ ।
बेयोन्ड मिट कम्पनीले यसबारे भनेको छ , “अहिले चीनमा हाम्रो फेक मिटको माग उच्च स्तरमा वृद्धि भइरहेको छ । ” यसले हरेक दिन चीनका ३,३०० स्टारबक्समा तिनपटकको खानेकुरा विक्री गरिरहेको छ । जनवरीदेखि बन्द गरिएका देशभरका प्रायः सबै स्टारबक्स अहिले खुलिसकेका छन् ।
तर अझैपनि केही प्रान्तमा चिनियाँ उपभोक्ताहरुलाई मासु छाडेर शाकाहारी खानामा आधारित मेन्यु अपनाउन लगाउनु केएफसी, स्टारबक्सका लागि चुनौतिमय हुनेछ । किनकी अमेरिका लगायत अन्य देश जसरी त्यहाँ मासु बोहकका प्रोटिन र स्वस्थ खानाको माग कमै छ भने युरोपेली र अमेरिकीहरुको तुलनामा चिनियाँहरुको दैनिक डायटमा धेरै सागसब्जीहरु हुन्छ । यसैले पनि चिनियाँहरुले आफू शाकाहारी हुँ भन्नु अत्यन्तै दुर्लभ मानिन्छ ।
स्वस्थ जीवन बाहेक मासुको वास्तविक अभावका कारण पनि कतिपय रेस्टुरेन्टहरुले फेक मिटको उपाय लगाइरहेका छन् । अफ्रिकन स्वाइन फिबरका कारण अघिल्लो वर्ष चीनमा ठूलो सङ्ख्यामा सुँगुर मार्नुपरेको थियो । त्यससँगै चीन, अमेरिका र क्यानडाबीच जारी विवादले पनि मासुको आयातमा समस्या ल्याएको हुँदा त्यहाँ सुँगुरको मासुको चरम अभाव थियो । त्यसैले फेक मिट यसको समाधान पनि साबित हुन सक्ने बताइएको छ । बीबीसी