बागमती प्रदेशमा कोरोनाको संक्रमणको अवस्था र स्वास्थ्य स्थिति
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संघीय राजधानी काठमाडौँ यसै प्रदेश भित्र पर्ने भएकोले गर्दा पनि बागमती प्रदेशको महत्व रहेको छ । यो प्रदेश समुन्द्रिय सतहको १४१ मिटर चितवनको गोलाघाट देखि ७,२४२ मिटर रसुवाको लिरुङ हिमाल सम्मको उचाईमा फैलिएको छ ।नेपाली समयको प्रमाणिक आधार स्तम्भ मानिएको गौरीशंकर हिमाल पनि यहि प्रदेशमा पर्दछ। नेपालको ५,००० मिटर भन्दा माथिका हिमाली चुचुराहरु पनि यहि प्रदेशमा पर्दछ। यस प्रदेशले नेपालको कुल क्षेत्रफलको १३.७९ प्रतिशत भूभाग ओगटेको छ।
जनसंख्याको हिसाबले यो प्रदेशमा २०.८७ प्रतिशत बसोवास गर्दछ। यो प्रदेश सास्कृतिक हिसाबले पनि ज्यादै अनुपम प्रदेश मानिन्छ। यस प्रदेश भित्र १० मध्ये ८ वटा विश्व सम्पदामा सुचित पुरातात्विक महत्वका स्थलहरु, ऐतिहासिक, सास्कृतिक एबम बस्तुकलाले भरिपूर्ण दरवारहरुको संख्या धेरै छन्। यसको अवोलोकन, अध्ययन, भ्रमण गर्नका लागि लाखौको संख्यामा आन्तरिक र बाह्य पर्यटकहरुको आगमन हुन्छ । आज म यहि प्रदेशको स्वास्थ्य अबस्थाको बारेमा लेख्न थालिरहेको छु।
बागमती प्रदेशको स्वास्थ्यको अवस्था
स्वास्थ्यका हिसाबले नेपालले विश्व स्वस्थ संगठनका सम्पूर्ण बडापत्रहरुमा हस्ताक्षर गरेको छ। बिगत केहि बर्ष देखि नेपाल पोलियो मुक्त, कुष्ठरोग निवारण, ट्रयाकोमा निवारण, क्षयरोगमा नियन्त्रण, मातृशिशु मृत्युदरमा कमि, औलो तथा कालाज्वरमा नियन्त्रण हुनुले नेपालको स्वास्थ्य अवस्था अन्य बिकाससिल मुलुकको दाजोमा अब्बल बन्दै गएको छ। बच्चा अवस्थामा दिईने खोपको बिषयमा पनि नेपालको उल्लेखनीय प्रगति भएको मानिन्छ।
प्रदेशभित्रका सबै नागरिकलाई स्वास्थ्य बनाई सबल मानव पुँजी निर्माणका लागि संघीय एवं स्थानीय तहसँगको समन्वयमा निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउने हेतुका साथ प्रदेश सरकार लागि परेको छ। जसको परिणामस्वरूप प्रदेश सरकार सुचारु भए पश्चात ल्याईएको बजेटमा पनि सोको झल्को देख्न सकिन्छ ।
यस प्रदेशले संघीय सरकार र स्थानीय तहसँग सघन समन्वय गरी निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी र सुदृढ बनाउन स्वास्थ्य संस्थामा गुणस्तरीय औषधिको उपलब्धता सुनिश्चित गर्ने व्यवस्था मिलाउने तथा ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’अन्तर्गत बढिरहेको मुटुरोग, मधुमेह, क्यान्सर, मिर्र्गौला जस्ता नसर्ने रोगबाट आमनागरिकको जीवनरक्षाका लागि सचेतना, समयमै रोगको पहिचान, उपचार र रोकथाम गर्न लाई थप विस्तार गर्ने कुरा नीति तथा कार्यक्रममा नै उल्लेख गरिएको छ ।
चालू आर्थिक वर्षलाई ‘स्वास्थ्य परीक्षण वर्ष’को रुपमा घोषणा गरीएको छ। जसमा ३० वर्ष माथिका विपन्न, अल्पसंख्यक तथा लोपोन्मुख जाति, शहिद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइते एवं महिला स्वास्थ्य स्वयंसेविकाहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने तथा यस बमोजिमका कार्यक्रम र आर्थिक अवस्था कमजोर भएका प्रदेशका बासिन्दालाई स्वास्थ्य परीक्षणमा सहुलियत प्रदान गर्न प्रदेश सरकारले ११ करोड रुपैयाँ विनियोजन गरिएको छ।
जसका कारण प्रदेश सरकार प्रदेश जनताको स्वास्थ्यमा संबेदनशील छ भन्ने कुरामा दुई मत छैन। जनघनत्व बढी भएको प्रदेशमा स्वास्थमा बिनियोजन गरिएको रकम त्यति धेरै नभए तापनि आगामी दिनमा बागमती प्रदेश जनतालाई स्वास्थमा पहुँच पुर्याउन लागिपर्ने छ भन्ने उदाहरण हो भन्नु पर्दछ। प्रदेश सरकारले संघीय सरकारसंगको सहकार्यमा प्रत्येक स्थानीय निकायमा १५ सैयाको अस्पताल संचालनमा ल्याउने कार्यक्रम अघि बढाएको छ। साथसाथै प्रत्येक आयुर्वेदिक केन्द्रलाई १५ सैयाको आयुर्वेदिक अस्पतालमा स्तरोन्नति गरी प्राकृतिक चिकित्सा, योग र ध्यानकेन्द्र पनि संचालन ल्याउने कार्यक्रम अघि बढाएको छ ।
प्रदेश सरकारले २१ वटा सामुदायिक बिद्यालयमा ‘एक बिद्यालय एक नर्स’ कार्यक्रम लागु गरिसकेको छ । पहिलो चरणमा केहि सामुदायिक विद्यालयमा कार्यक्रम संचालन गरिसकी त्यसबाट राम्रो परिणाम आएको ले गर्दा अबको बजेटमा यसलाई निरन्तरता दिई सम्पूर्ण सामुदायिक बिद्यालयमा यो कार्यक्रम लागुगर्ने लक्ष्य लिएको छ। प्रदेश सरकारको मातहतमा रहेको अस्पताल र प्रमुख स्वस्थ केन्द्रलाई सुबिधा सम्पन्न बनाउन उपकरणहरुको व्यवस्था गर्ने र पूर्वाधारको विकास गर्ने लक्ष्यका साथ अघि बढेको छ ।
यस प्रदेशको औसत आयु ७२ वर्ष रहेको छ जुन नेपालको औसत आयु ७०.१७ बर्ष रहेको छ भने छिमेकि देश भारतको औसत आयु ६०.१६ वर्ष र नेपाली भाषीहरुको उल्लेखनीय बसोबास भएको भुटान देशको औसत आयु ७१.१३ बर्ष छ। जसको तुलनामा यस प्रदेशवासीको औसत आयु राम्रो मान्न सकिन्छ । नेपालको औसत आयु सन् २००० मा ६१.८५ बर्ष थियो भने अहिले सन् २०२० मा ९ बर्षले वृद्धि भएको छ। जुन विश्वमै उच्च मानिएको छ।
जसले नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको मान्नु पर्दछ। बागमती प्रदेशको मातृशिशु स्वास्थमा पनि उल्लेखनीय प्रगति भएको छ । जसमा बाल मृत्युदर १००० मा ३६ जना, नवजात शिशु १००० मा १७ जना छन्। जसलाई आगामी दिनमा घटाउदै जाने लक्ष्य लिइएको छ। यस प्रदेशमा स्वास्थ्य संस्थामा गई प्रसुती गर्ने आमाहरु ७१ प्रतिशत र तोकिएको समय १२.२३ महिना सम्म खोप लगाउने शिशुको संख्या ८५ प्रतिशत रहेको छ ।
बागमती प्रदेशमा स्वास्थ्य संस्थाको अवस्था
यस प्रदेशमा २७ सरकारी अस्पताल, ४३ प्राथमिक स्वास्थ्य केन्द्र, ६४४ स्वास्थ्य चौकी, १३९ नगर स्तरीय स्वस्थ केन्द्र, ११४ सामुदायिक स्वास्थ्य ईकाई तथा ६४ आयुर्बेद स्वास्थ्य संस्था छन् भने ३९८ प्रसुती केन्द्र छन्। तथापी जुन पूर्ण छैनन्, अझ पनि एक तिहाई वडाहरु स्वास्थ्य संस्था बिहिन छन् । सम्पूर्ण स्थानीय निकायमा अस्पताल पुग्न सकेको छैन । स्वास्थ्य सेवाको पहुँचबाट अझै पनि ठुलो हिस्सा आर्थिक, सामाजिक, भौगोलिक अवस्था अनुसार असमानता छ ।
शहरी क्षेत्रहरु जस्तो काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन जस्ता जिल्लाहरु स्वास्थ्य सेवाबाट सुगम मानिन्छ । यी जिल्लाहरुले प्रदेश समग्रको झन्डै दुई तिहाइ स्वास्थ्य संस्थाहरु रहेको देखिन्छ । तर यी जिल्लाको पहाडी क्षेत्रहरुमा स्वास्थ्य स्थिति भने दयनीय छ । यस प्रदेशका अन्य जिल्लाहरु नुवाकोट, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप र मकवानपुर जिल्लाहरु स्वास्थ्य संस्थाको पहुँचका हिसाबले त्यति राम्रो मानिदैन्र । यस प्रदेशको अति दुर्गम क्षेत्रमा १.२५ प्रतिशत, दुर्गम क्षेत्रमा १२.२८ प्रतिशत, मध्यम क्षेत्रमा १७.२० प्रतिशत र सुगम क्षेत्रमा ६९.२७ प्रतिशत स्वास्थ्य संस्था रहेका छन् । स्वास्थ्य सेवा प्रदायक संस्थाहरू सबैभन्दा बढी भएका ३० स्थानीय तहमा मात्र ७३.९२ प्रतिशत स्वास्थ्य संस्था सञ्चालित छन् । ती प्रायः काठमाडौं उपत्यका भित्रै छन् तरपनि अन्य प्रदेशहरुको तुलनामा बागमती प्रदेशको स्वास्थ्य पूर्वाधारको स्थिति राम्रो मान्न सकिन्छ ।

यस प्रदेशमा सामान्य सहित विशेषज्ञ सहितको निजि तथा सामुदायिक अस्पतालहरु र त्रिभुवन बिश्वबिध्यालय र काठमाडौँ बिश्वबिध्यालयको गरि ९ वटा मेडिकल कलेजहरु अवस्थित छन् । यो सहित यस प्रदेशमा १३४ अस्पताल हरु छन् । यसकारण पनि यस प्रदेश स्वास्थ्य पूर्वाधारका रुपमा उच्च मानिन्छ । तर पनि बिगत केहि वर्ष देखि नेपालको अन्य प्रदेशमा जस्तै यस प्रदेशमा पनि मधुमेह, उच्च रक्तचापका बिरामीको संख्या द्रुतगतिमा बढदै गईराखेको छ । जुन यस प्रदेशमा पत्रु खानको उच्च उपभोग, र खानपानमा सन्तुलन नहुदा उच्च मोटोपनको कारणले गर्दा यस्ता बिमारीहरुको संख्या उच्च रहन गएको छ । यसका साथै जेष्ठ नागरिकमा स्वास्थको समस्या, अव्यवस्थित बसाई सराई तथा आप्रावासन ले गर्दा पोषिलो खानेकुराको उत्पादन र उपभोगमा समस्या, उच्च एबम अव्यवस्थित शहरीकरणले गर्दा खेति योग्य जमिनहरु कंक्रिट जंगलमा परिणतिले गर्दा यस्ता समस्याहरु दिनप्रति दिन बढ्दै गईराखेको छ ।
बागमती प्रदेशमा कोरोनाको कहर
विश्व महामारीको रुपमा रहेको कोरोनाको जोखिम यस प्रदेश पनि चोखो रहन सकेको छैन। नेपालको अन्य प्रदेशको तुलनामा यस प्रदेश कोरोनाको उच्च जोखिममा छ। किनकि अन्तर्राष्ट्रिय हवाईउडान र नेपालको छिमेकि राष्ट्र चीन बाट स्थलमार्ग हुदै नेपाल जोडिने २ वटा नाका यसै प्रदेशमा पर्दछ। दक्षिण छिमेकि राष्ट्र भारतको स्थलमार्गबाट यस प्रदेश नम्बर २ को नाकासंग जोडिएको छ। तर पनि नेपालको बीच स्थानमा रहेको र देशको राजधानी पनि यसै प्रदेशमा पर्ने भएका कारण नेपालको सम्पूर्ण प्रदेशबाट विभिन्न कारण दैनिक हजारौको संख्यामा मानिसहरु यस प्रदेशमा प्रवेश गर्ने र दैनिक हजारौको संख्यामा प्रदेश छोड्ने हुँदा कुनैपनि बेला यो प्रदेशमा द्रुतगतिमा कोरोना फैलिन सक्ने अवस्थालाई नकार्न सकिदैन्र विभिन्न प्रदेश बाट रोजगारी एबम जीवनयापनका लागि दैनिक ज्यालादारी गर्ने मजदुरहरु लाखौको संख्यमा यस प्रदेशमा दैनिकी बिताई रहेका छन्।
त्यसरी यहाँ बस्ने मजदुरहरु कतिपय सानो कोठामा धेरै मजदुरहरु बस्ने र बस्नका लागि उपयुक्त स्थानमा पनि जीवन यापन गरिराखेकोले गर्दा कोरोना फैलिन गएको कारण नियन्त्रणमा ल्याउन निकै कठिन हुने अवस्था बिध्यमान छ । औपचारिक क्षेत्रका मजदुरहरु उधोगले उपलब्ध गराएको बासस्थानमा जीवनयापन गर्ने हुँदा बासस्थानमा हुनुपर्ने सुविधाहरु उपलव्ध हुन्छ तर अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुको बासस्थान आफैले नै खोज्नुपर्ने र भाडा आफैले तिर्नुपर्ने हुँदा उनीहरु सस्तो र रातमा जिउ लुकाउने मनसायका साथ रहने हुँदा जीवनयापन गर्न आवश्यक पर्ने सुविधाहरु बाट बन्चित भएका हुन्छन।
यस्तो ठाउँमा कोरोना भाईरस फैलिन गएको अवस्थामा स्थिति भयाबह हुन सक्दछ। यस प्रदेश भित्र विभिन्न जिल्लाहरुमा गैरकानुनी रुपमा सार्वजानिक स्थानमा बस्तीहरु रहेका हुँदा त्यस्ता स्थानहरु पनि कोरोनाको चपेटामा पर्न सक्ने संभावना छ। यस्ता बस्तीहरुमा पशुपंक्षी र मानवको बसोबास दुरी बिना नै हुने हुँदा रोगको सर्ने सम्भावना उच्च रहन्छ । अनौपचारिक क्षेत्रका दैनिक ज्यालादारी गर्ने बर्गले जीवनयापन गर्नै धौ धौ परिरहेको अवस्थामा रोग सर्न नदिन अपनाउनुपर्ने स्वस्थका पुर्वतयारी सावधानी नअपनाईदिदा यस्ता सरुवा रोगहरुको महामारीले भयावह स्थिति ल्याउने संभावना छ ।
बागमती प्रदेश सामाजिक मन्त्रालयबाट कोरोना रोगथामका लागि पूर्वतयारी
बागमती प्रदेश सामाजिक मन्त्रालयबाट कोरोना रोगथामका लागि विभिन्न पूर्वतयारीहरु गरेको छ। जस अनुसार यस प्रदेशमा ३७९० क्वारेन्टाइन बेड र ८९७ आइसोलेसन बेड निर्माण भइसकेको अवस्था छ । जसमध्ये क्वारेन्टाइनहरु धादिङमा ५१२, सिन्धुपाल्चोकमा ४८१, काठमाडौंमा ४४४, भक्तपुरमा ३१३, रामेछापमा ३०१, चितवनमा ३००, काभ्रेमा २८८, नुवाकोटमा २८७, मकवानपुरमा २०५, सिन्धुलीमा २०५, रसुवामा १८४, दोलखामा १५८ र ललितपुरमा ११२ वटा क्वारेन्टाइन तयार छ ।
त्यस्तै आईसोलेसन बेडहरु चितवनमा ३०२, काठमाडौंमा १९०, ललितपुरमा १२४, भक्तपुरमा ४२, सिन्धुपाल्चोकमा ४१, दोलखामा ३७, मकवानपुरमा ३५, रसुवामा ३५, सिन्धुलीमा ३२, नुवाकोटमा १६, रामेछापमा १५, धादिङमा १५ र काभ्रेमा १३ निर्माण भएका हुन्। प्रदेशका विभिन्न अस्पतालमा ४७५ आइसियु बेड तयार भइसकेको छ भने ७३ बेड निर्माणाधीन रहेको छ । जसअनुसार चितवनमा १९६, काठमाडौंमा १४०, ललितपुरमा ९७, भक्तपुरमा ३५, मकवानपुरमा ४ र काभ्रेमा ३ बेडको आइसियु तयारी अवस्थामा छन्। यस प्रदेशको अन्य सात जिल्लाहरु रसुवा, नुवाकोट, धादिङ, सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोकमा आइसियु सेवाको व्यवस्था गरिएको छैन। अहिले हालसालै निर्माण हुने अवस्था छैन्र ।
रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी, हरेक पालिकाहरु र शसस्त्र प्रहरीको संयोजनमा हरेक नाका हरु, जिल्ला जिल्लाको सिमानाहरू र महानगरपालिका, नगरपालिका र गाउँपालिकामा हेल्थडेस्क राखिएको छ । व्यापक जनमानसमा कोरोनाको बारेमा र यसबाट बच्नका लागि अपनाउनुपर्ने साबधानिको बारेमा जनचेतना फैलाउने कार्य गरिराखेको छ। यस प्रदेशले स्वास्थ्य संस्थालाई आवश्यक पर्ने स्वास्थ्यका सामग्री एबम परीक्षणको लागि आवश्यक पर्ने परिक्षण सामग्रीहरु उपलब्ध गराउने कार्य गरेको छ।
प्रदेश स्तरीय अस्पतालहरुमा आवश्यक पर्ने सामाग्रीहरु वितरण गरिएको छ। हरेक अस्पताललाई आवश्यक पर्ने पिपिई, ज्वरो नाप्ने इन्फ्रारेड थर्मोमिटर, N 95 माक्स, सर्जिकल माक्स, सेनिटैजरहरु बितरण गरिएको र केहि स्वस्थ सामाग्रीहरु खरिद प्रक्रियामा रहेको छ। माथि नै उल्लेख गरिएझै यो प्रदेशभित्र देशको राजधानी रहेको काठमाडौं पनि पर्ने भएका कारण प्रदेशको गतिविधिहरु ओझेलमा परेको भान हुन्छ। तर प्रदेश सरकार यस रोगलाई फैलन नदिनका लागि पुर्बतयारीमा पहिले देखि लागि परेको अवस्था छ।
यस प्रदेशभित्र अहिले सम्म कोरोनाका संक्रमितहरु ७ जना रहेका छन् भने मृत्युबरण गर्नेको संख्या कोहि पनि छैनन्। कोरोना भएपनि छिट्टै स्वास्थलाभ गरि घर फर्केका छन्। जसमा काठमाडौंमा संक्रमित भएकाको संख्या ४ जनामा सन्चो भई सबै घर फर्किसकेका छन्। धादिङ जिल्लामा संक्रमितको संख्या १ जना छन्। जो आइसोलेसनमा स्वास्थलाभ गरिराखेका छन्। चितवनमा संक्रमितको संख्या २ जना छन् र तिनीहरु पनि भरतपुर अस्पतालको आइसोलेसनमा स्वास्थलाभ गरिराखेका छन्।
यो प्रदेशमा उच्च शहरीकरण भएका क्षेत्रहरु धेरै छन् । तरपनि शहरीकरणको लागि आवश्यक पर्ने सार्वजनिक सेवाहरुको पूर्ण उपलव्धता कमि भएका र त्यस क्षेत्रमा जनघनत्व अत्यधिक भएका कारण कुनैबेला महामारी फैलन सक्ने उच्च जोखिम रहेको छ। शहरीकरणको कारण वरिपरिका उच्च पहाडी भूभाग र वरपरका क्षेत्रबाट शिक्षा, स्वास्थ्य, रोजगार, एबम दैनिक ज्यालादारी कार्य गरी जीवनव्यतित गर्ने जनमानसको जमघट वढी हुने भएकाले गर्दा पनि यस्ता क्षेत्रहरु उच्च जोखिममा हुन्छन। त्यसकारण स्थानीय सरकार र प्रदेश सरकार यस्ता क्षेत्रमा उच्च सतर्कता अपनाउनु जरुरी देखिन्छ।
प्रदेश सरकारले भविष्यमा अपनाउनुपर्ने स्वास्थ्य सम्बन्धि नीति र कार्यक्रम
बागमती प्रदेशले हाल संचालन भईरहेका कार्यक्रमहरु जस्तो ‘मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम’ लाई सम्पूर्ण स्वस्थ संस्थाबाट प्राप्त गर्न सकिने गरी व्यापक रुपमा संचालन गरिनु पर्ने छ। यस कार्यक्रमले उपलव्ध गराएको परिक्षण सुविधालाई अझ बढी रोगहरुको परिक्षण गर्न मिल्ने गरी दायरा फराकिलो बनाउदै लैजानु पर्ने आवश्यकता देखिएको छ।
विश्वमा खराब खानपान एबम आनीबानीका कारण बढ्दै गएको मधुमेह, उच्च रक्तचाप, मुटु र क्यान्सर जस्ता रोगहरु यस प्रदेशमा पनि द्रुतगतिमा बढ्दै गएका छन्। यसप्रति प्रदेश सरकारले स्कुल शिक्षा देखि नै खानपान एबम आनिबानिको महत्वका बिषयमा शिक्षित बनाउदै लैजानु पर्ने आवश्यक देखिन्छ। यस्ता कार्यक्रमहरु स्थानीय निकायसंग समन्वय गर्दै हरेक टोल, गाउँ एबम बस्तीमा छलफल, प्रशिक्षण, नाटक एबम गीति कार्यक्रम मार्फत सुसूचित गराउनु आवश्यक देखिन्छ ।
महिला स्वास्थ्यमा यस प्रदेशमा पनि सन्तोषजनक नभएको कारण महिलाको प्रजनन स्वास्थ्य र क्यान्सर बाट पिडित महिलाहरुको संख्या अत्याधिक भएका कारण प्रदेशभित्रका सम्पूर्ण निजी, सरकारी र सामुदायिक अस्पतालहरुमा निर्बाधरुपमा निस्शुल्क जाँच गर्नपाउने व्यवस्था मिलाउनुपर्ने छ। उदाहरणका लागि ४० वर्ष उमेर पुरा गरेका महिलाहरुको पाठेघरको क्यान्सर र स्तन क्यान्सरबाट बच्न सरकारी अस्पतालमा कम्तिमा बर्षमा एक चोटि निस्शुल्क चेकजाँचको व्यवस्था गर्नुपर्दछ। जसले गर्दा महिलाको पाठेघर र स्तन क्यान्सरको बढ्दो मृत्यु संख्यामा केहि कमि आउछ।
बर्तमान स्थितिमा विश्व कोरोना महामारीको चपेटामा परेर उत्रन गाह्रो भईरहेको अवस्थामा निकट भविष्यमा जारी गरिने आ.व २०७७/७८को बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी कार्यक्रम बनाउनु पर्नेछ । बागमती प्रदेश सरकारले ‘स्वास्थ्य, सुसंस्कृत र सुखी जनता समाजवाद उन्मुख समृद्ध प्रदेश’ भन्ने मूल नाराका भएको हुँदा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी बजेटमा सम्बोधन हुनु पर्नेछ। बिद्यालय नर्स कार्यक्रम प्रदेश भित्रका १३ जिल्लामा रहेका हरेक सामूदायिक बिद्यालयमा पुर्याउनु पर्नेछ ।
यस कोरोना माहामारीले कुनैपनि बेला यस्ता किसिमका माहामारीहरु फैलन सक्ने उच्च जोखिम रहेको हुँदा प्रदेशका सम्पूर्ण जिल्लाहरुमा परिक्षण गर्ने प्रयोगशाला, अस्पतालको पूर्वाधार बिकास गरी जोखिमको न्यूनीकरण गर्न पूर्वतयारी गर्नका लागि नीति कार्यक्रम तथा बजेटको व्यवस्थापन गर्नु पर्छ।
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरी नसर्ने रोगको जोखिम न्यूनीकरण गरी जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने घोषणाले राम्रो संदेश दिएको छ। सरुवा रोग एवं महामारीको रोकथाम, उपचार, नियन्त्रण, निवारण र व्यवस्थापनमा विशेष जोड दिइने लक्ष्य राखिएकोमा खासै परिणाम नआएको भनी सरोकारवालाहरुको भनाई रहेकोमा अहिले कोरोना महामारीसंग जुध्नका लागि प्रदेश सरकारले बागमती प्रदेशको उपत्यका बाहेक चितवन र हेटौंडामा अहिले कोरोना परिक्षण गर्ने प्रयोगशालाको स्थापना गरि संचालनमा ल्याईएको छ र अब प्रदेशको सम्पूर्ण जिल्लाहरुमा प्रयोगशालाको बिस्तार, बिकास र जनशक्तिको पदस्थापन गर्ने लक्ष्य लिइनुपर्ने छ । आगामी दिनमा यस महामारीले कसरी क्षति र कति समयसम्म लम्बिने छ भन्नेकुराको आंकलन अहिलेनै गर्न नसकिने अवस्था रहेकोले गर्दा प्रदेशको जनसंख्या र भौगोलिक हिसाबले हाल बिध्यमान रहेको प्रयोगशाला अपुग हुने अवस्था रहेकोले परिक्षणको दायरा बढाउन सबै प्रदेशमा प्रयोगशालाको बिकास गरिनु जरुरि देखिन्छ।
प्रदेश सरकारले स्वास्थ्यमा सम्पूर्ण प्रदेशवासीको पहुँच पुर्याउनका लागि प्रदेशको हरेक घरधुरीलाई स्वास्थ्य बिमामा संलग्न गराउनु पर्दछ। ्बिमाको रकम तिर्न असमर्थ घरधुरीलाई सहुलियत दिई सहभागिता गराउनु पर्दछ।औपचारिक सँस्थामा कार्य गर्ने मजदुरलाई सोहि संस्थाबाट केहि रकम ब्योहोरिनेगरी र बाकी रकम मजदुरले तिर्ने गरी गराउन सकिन्छ। अनौपचारिक क्षेत्र र स्वरोजगार मजदुरहरुलाई उनीहरुको आयस्रोतको आधारमा प्रदेश सरकारले केहि रकम सहुलियत प्रदान गरी बाँकी रकम मजदुरले तिर्ने गरी बिमाको दायरालाई बढाउन सकिन्छ। त्यसैगरी महिला बालबालिका र किशोरीहरुलाई प्राथमिकतामा राखी बहुक्षेत्रीय पोषणको कार्यक्रमलाई प्रभाबकारी रुपमा अघि बढाउनुपर्ने छ । (जनपत्रका लेखक बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगको सदस्य हुनुहुन्छ ।)







