मजाकमै मृत्यसंग मित नमिलाऔँ !
घटना १
नेपालमा कोरोना संक्रमित भित्रिन नदिने उद्देश्यले चैत १० गतेदेखि सबै सीमा नाकाहरु बन्द गराउने निर्णय संघीय सरकारले गरेको थियो। तर, रोजगारीकालागि भारत गएकाहरु हजारौंको संख्यामा सीमामा अलपत्र परेपछि स्थानीय प्रशासनको समन्वयमा गड्डाचौकी र गौरीफन्टा नाकाबाट उद्धार गरेर उनीहरुकै घरसम्म पुर्याउने व्यवस्था मिलाएको थियो। गौरीफन्टामा हजार बढी मानिसहरुको भिडमा थिए कोरोना संक्रमित २१ वर्षिय यूवा जो घर पुगेरमात्र क्वारेन्टाइन गए। उनीलाई गाडीमा राखेर उनीहरुको पालिका सम्म पठाइएको थियो।
घटना २
दुबईबाट मार्च १९ मा फर्किएर आएका ३४ वर्षिया संक्रमित युवककी ४१ वर्षीया भाउजुमा पनि कोभिड-१९ संक्रमण भएको छ। योसँगै पहिलो पटक नेपालमै बसेकालाई संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
माथिका घटनाहरुबाट नेपालमा अरु मानिसहरुमा संक्रमण फैलन सक्ने जोखिम ह्यात्तै बढेको छ। नेपाल संकटमा परिसकेको त छैन तर संकटासन्नमा चाही पक्कै छ। उल्लेखत संक्रमितहरुले पहिचान हुनु अगावै अरु कति धेरैलाई संक्रमण सारी सकेको होला। उनीहरुको ‘ब्यावहार’ ले यात्रा गर्दा आसपासमा आएका ब्यक्ति मार्फत संक्रमण कति शय हजारमा फैलाउन सके होलान। हामी कल्पना गर्न सक्दैनौँ र यो अब हाम्रो कल्पना भन्दा बाहिर छ। किनकी ईटालीमा मात्र २ जनाबाट शुरु भएको संक्रमणले आज त्यहाँ कस्तो अवस्था ल्याएको छ हामी सबैलाई थाहै छ। हरेक दिन त्यहाँ ७ शय भन्दा बढि मरिरहेका छन् र आफन्तहरुले लास व्यवस्थापन गर्न स्थान पाउन सकिरहेका छैनन्।
सामान्यतयाः कोभिड-१९ को संक्रमण भएका मानिसमा रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, साँस फेर्न गाह्रो हुने लगायतका लक्षण देखा पर्ने चिकित्सकहरुले बताउँदै आएका छन् तर यी माथिका संक्रमितमा यस्तै कुनै लक्षण देखिएन। क्वारेन्टाईनमा राखिएकालाई चेक गर्दा माथिका संक्रमितहरु पोजेटिभ भेटिएका हुन। त्यसकारण अब लक्षणको आधारमा होईन सबै विदेशबाट आएकाहरुलाई क्वारेन्टाईनमा राखि संक्रमण परिक्षण गर्नु पर्दछ र क्वारेन्टाईनको अवधिभरी पटक पटक परिक्षण आवश्यक छ। विश्वमा धेरैलाई २ पटक सम्म नेगेटिभ परिक्षण आएता तेस्रो पटकको परिक्षणमा १४ औँ दिनको दिन पोजेटिभ देखिएको अनुभव छ।
खुला सिमाना पार गरेर आएकाबाट नेपालमा संक्रमण फैलिएको प्रमाणित भैसकेको छ। संक्रमण थप फैलन नदिन र फैलिसकेको भए समयमै न्यूनीकरण गर्न हाम्रो मूलुक अहिले ‘लकडाउन’को अवस्थाबाट गुज्रिरहेको छ। अझै पनि प्रवासमा गएका नेपालीहरु संक्रमणबाट जोगिनकैलागि सिमानामा लुकिछिपी आईनै रहेका छन्। हाम्रो खुला सिमाना यतिखेर अतिनै जोखिमयुक्त छ। यसरी आउने नेपालीहरु आफै सजक हुनु पर्ने हो। उनीहरुको कारण उनीहरुकै परिवार र समुदाय उच्च जोखिममा छन्।
नेपाल भारत दशगजामा जम्मा भएका नेपालीहरु आफू घर पुग्न पाउन पर्छ भनि आन्दोलन गरिरहेका थिए। कोही मिलेमतोमा छिरेर घर पुगिरहेका थिए। विश्वको विकसित मूलुकलाई मुस्किलमा गाज्न सक्ने यस माहामारीको अवस्थामा उनीहरु घर पुग्न भन्दा पनि सुरक्षित क्वार्न्टाईनमा बस्न माग गर्नु पर्दथ्यो। उनीहरुमा सावधानी देखिएन र हतारिए पनि। यसको अर्थ उनीहरुमा चेतनाको कमी पनि हो। स्थानीय, प्रदेश तथा संघिय सरकारले संयुक्त रुपमा उनीहरुलाई सुरक्षित क्यारेन्टाईन गर्न सक्न पर्दथ्यो। अब उनीहरुलाई खोज्न कुन समुदायमा कसरी जाने?
दुई देश विचको यो खुला सिमानमा निरन्तर अनुगमनको खाचो छ। हामी तब सम्म अनुगमन गरौँ जब सम्म छिमेकि भारतमा संक्रमण शुन्य हुदैन। नत्र नेपालमा सधै संक्रमणको त्रास रहिरहन्छ। त्यसकारण हामीले भारतको कोभिड-१० संक्रमण विरुद्धको रणनीतिलाई पनि नजिकबाट नियाल्नु पर्दछ।
यस्तै गरि तेस्रो मूलुकहरुबाट पनि प्रवासी नेपालीहरु फर्कदै छन्। अस्ट्रेलिया सरकारले ६ महिनासम्म बस्न सक्ने अवस्था भए मात्र बस्नु नभए आफ्नै मूलुक फर्कन त्यहाँ अध्ययनरत विध्यार्थीहरुलाई भनिसकिएको छ। अब नेपालमा संक्रमणको सम्भावना भएका धेरै ब्यक्तिहरु जम्मा हुदैंछन्। सरकार यसको पनि व्यवस्थापनमा तयारी हुन जरुरी छ।
अग्र पंक्तिमा रहेर उपचार र सुरक्षामा संलग्न स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीको कार्यलाई थप बल प्रदान गर्न तथा आत्मवल बढाउन सरकारले उनीहरुको सुरक्षाका सामाग्रीहरु सहितको अनुकूल प्याकेजहरु तुरुन्त ल्याउन जरुरी छ। यस्तो विषम परिस्थितीमा कोभिड-१९ संक्रमण नभए पनि लक्षण मिल्दोजुल्दो विरामी अस्पताल आएमा बिरामीहरुको उपचार नै नगरी अन्त पठाईरहेका छन्। यसले भयावह स्थितिको सिर्जना हुन पुगेको छ र यसका कारण कतिपयले अनाहकमा ज्यान गुमाइसकेको समाचार आएका छन् भने उपचार नपाएर कतिपय जीवन-मरणको दोसाँधमा छन्। महामारी सधै आउंदैन यो एक उपचार सेवा गर्ने अवशर पनि हो र स्वास्थ्यकर्मीहरुको ज्ञान, सिप र अभ्यासको परिक्षाको घडी पनि हो। यस परिक्षामा स्वास्थ्यकर्मीहरु सफल हुनु हुनेछ भन्ने शुभेच्छा ब्यक्त गर्न चाहान्छु। यहाँहरुको सफलताको विकल्प पनि छैन। हरेक एक विरामीलाई बचाउने हर कोशिस गर्नु स्वास्थ्यकर्मी पेशागत मर्यादा हो। उपचारकालागि स्थापित अस्पतालले आनाकानी गरिरहेको खबर आउनु गलत हो र वहाँहरुले यसलाई गलत सावित गर्नेछन्।
सरकारले लकडाउन गरेको २ साता पुग्दै गर्दा यसका वहुआयामिक अशर देखिन थालेको छ। आम मानिसको दैनिक जीवनका हरेक पलहरु प्रभावित हुन पुगेका छन्। खासगरि असंगठित क्षेत्रका कमजोर वर्ग जो दैनिक श्रम गरेर गुजार चलाउछन् लाई सरकारले राहत दिन सक्नु पर्दछ। सरकारले स्वयंसेवक दल तयार गरेर अति आवश्यक खाध्यपदार्थको सन्तुलित वितरण प्रणाली विकास गरी आम मानिसको दैनन्दिनीमा सहजता ल्याउन थाल्नु पर्दछ। यस कार्यबाट नागरिकले सरकार उत्तरदायि भएको महशुस गर्नेछन्। लकडाउन गर्दै गर्दा यसबाट परिरहेको अशर मन्थर गर्न र लकडाउन बढाउंदै लैजादाँ थप हुन सक्ने वहुआयामिक अशरहरुबारे समयमै अनुमान गरी सरकारले अर्थतन्त्रलाई ढाढस दिन सक्नु पर्दछ।
नेपाल सरकारले घोषणा गर्यो कि नेपालको संक्रमण दोस्रो चरणमा पुगेको छ। घोषणासगैं सरकारले बिदेशबाट आएकाहरुलाई ब्यवस्थापन गर्न नसकेको प्रस्ट बुझिन्छ। सरकार कहाँ चुक्यो भनि विश्लेक्षण गर्ने वेला यो होईन। सरकारको कमजोरीबारे यस संक्रमणको लडाईमा विजय प्राप्त गरिसके पछि समिक्षा अवस्य गरौँला। अब जनतासंग प्रत्यक्ष सम्पर्कमा रहिरहने सरकार भनेको स्थानीय सरकार हो र यो सरकार भने कदापी हार्नु हुदैंन यो कोभिड-१९ विरुद्धको महासंग्राममा। अहिले हाम्रा स्थानीय सरकारहरुको जिम्मवारी बढेको छ। आफ्ना वडामा बिदेशबाट आएकाहरुलाई जानकारी गराएर क्वारेन्टाईनमा लिन जरुरी छ। यो नै यति खेरको सर्वोतम तथा अनिवार्य उपाय हो। यो सरकार चुक्न हुन्न र हामी यो सरकार चुकेको अवस्थाको कल्पना गर्न सक्दैनौँ। त्यसकारण स्थानीय सरकारका राजनैतिक नेतृत्व र कर्मचारीहरुले विना गल्ति गम्भिरताकासाथ यस महामारी विरुद्ध विजय हासिल गर्न लाग्नु पर्दछ। तुरुन्तै संघिय सरकारले पनि कोभिड-१९ बारे ज्ञान भएका स्वास्थ्यकर्मी र स्वयंसेवीहरु परिचालन गर्न अति आवश्यक छ।
र अन्त्यमा….
विचमा हामी तयारी नगरी कोरोना फ्रि भन्दै हिडौँ। त्यो त सुन्निएर मोटाएको जस्तै भयो। मृत्यसंग मित मिलायौँ!! अब हामीलाई जोगाउने भनेको स्थानीय सरकारले हो- ‘कन्ट्याक ट्रेस’ गर्ने, क्वारेन्टाईन गर्ने, ‘टेस्ट’ गर्ने, आईसोलेसन गर्ने र संक्रमित देखिएमा आईसोलेसनमा उपचार गर्ने। यस कार्यमा स्वास्थ्य क्षेत्रमा कार्यरत सबैले गम्भिरताकासाथ ठूलो जिम्मेवार लिन एकदम जरुरी छ।
चाईना सरकारले कोभिड-१९ सरुवा रोग माहामारी घोषणा गर्नु पूर्वनै हुवान अस्पतालका आँखाका डक्टर ‘लि वेनलियाङ’ ले गत डिसेम्बरको प्रारम्भमै यसबारे सचेत गराईसकेका थिए तर सरकारले समयमै उचित कदम चाल्न नसकेको कारण आज विश्वनै यस माहामारीको शिकार बन्न परेको छ र आज हामी यस संक्रमणको दोस्रो खतरनाक चरणमा पुगेका छौँ।
अध्ययनले देखाएको छ कि कोभिड-१९ संक्रमण दर ब्यक्तिको रोग प्रतिरोधात्मक क्षमता र वायुमण्डलको तापक्रमसंग संवेदनशिल छ। हामी नेपालीहरुको शरीरमा विविध कारणले रोग प्रतिरोधात्मक क्षमता अन्य कतिपय विकशित मूलुकहरुको तुलनामा बढि छ। त्यसकारण यसले हामीलाई सजिलै संक्रमण फैलाउन सक्दैन की। अनि नेपालको वायुमण्डलमा हरेक दिन बढ्दै गरेको तापक्रममा यसको संक्रमणको ताकत क्षिण बन्दै जानेछ की।
कोभिड-१९ संक्रमण मानिसबाट मानिसमा सर्ने हो र जनघनत्व बढी भएको समुदायमा तिव्र फैलन्छ त्यसमाथि पनि चेतनाको कमि भएको घना बस्तिमा यो संक्रमणले गुणात्मक स्वरुप लिन्छ। त्यसकारण नियन्त्रित लकडाउनमा रहन आम जनता सावधानी र अनुशासित भई आफ्नै घरमा बस्नु नै पहिलो र अत्यावस्यक कार्य हो किनकी यही कार्यले अब नेपालीलाई कोभिड-१९ को संक्रमणबाट जोगाउने छ। अस्तु!






