बेलायती प्रधानमन्त्री जोन्सन अझै आइसियूमा, स्वास्थ्य अवस्था स्थिर
कोरोना भाइरसबाट संक्रमित भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले दोस्रो रात पनि सघन उपचार कक्ष ‘आइसियू’ मा बिताएका छन् । कोरोना भाइरसका लक्षणहरु थप सघन बन्दै गएको र स्वास्थ्य अवस्था गम्भीर देखिएपछि प्रधानमन्त्री जोन्सनलाई सोमबार बेलुका आइसियूमा सारिएको थियो ।
जोन्सनलाई मंगलबार राति पनि आइसियूमै राखिएको र डाक्टरहरुले कोरोना भाइरसको उपचार गरिरहेको बेलायती सञ्चारमाध्यमले जनाएको छ । प्रधानमन्त्री जोन्सन लण्डन स्थित सेन्ट थोमस हस्पिटलको आइसियूमा छन् । उनलाई गएको आइतबार बेलुका सो अस्पताल भर्ना गरिएको हो । डाक्टरहरुले जोन्सनको स्वास्थ्य नजिकबाट नियालिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । जोन्सनको अवस्था स्थिर र आत्मबल उच्च रहेको उनका प्रवक्ताले मंगलबार बेलुका बताएका छन् ।






