कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीको अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै

जनपत्र
२५ चैत्र २०७६, मंगलवार ०७:२६

कोरोना भाइरस ‘कोभिड-१९’ बाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। अहिले उनलाई सघन उपचार कक्ष ‘आईसीयू’ मा राखेर उपचार गरिँदै छ। कोरोना संक्रमणका लक्षण झन्झन् बढी हुँदै गएर उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

‘उहाँलाई लन्डनको सेन्ट थोमस हस्पिटलको डाक्टरको निगरानीमा रोखिएको छ,’ बेलायती प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,- ‘उहाँको अवस्था थप गम्भीर देखिएपछि मेडिकल टिमको सल्लाहमा आईसीयूमा सारिएको हो।’ पहिले निवासमै आराम गरिरहेका ५५ वर्षीय जोन्सनलाई रागले च्यापेपछि आइतबार राति अस्पताल भर्ना गरिएको थियो। संक्रमण अझ जटिल बन्दै गएपछि उनलाई आईसीयू कक्षमा सारिएको उनको प्रवक्तालाई उधृत गर्दै बेलायती सञ्चारमाध्यमले जनाएका छन्।

बीबीसीका अनुसार बेलायती सरकारका प्रवक्ताले प्रधानमन्त्री जोन्सनले आफ्ना विदेशमन्त्री डोमिनिक राबलाई जहाँ आवश्यक पर्छ त्यहाँ आफ्ना तर्फबाट जिम्मेवारी सम्हालिदिन भनेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री जोन्सनको स्वाथ्यलाभको कामना गरेका छन्। यसैगरी लेबर पार्टीका नेता सर केएर स्टार्मरले उनको स्वास्थ्यको कामना गरेका छन्। गत मार्च २७ तारिख जोन्सनलाई कोरोना संक्रमणको पुष्टि भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*