‘घरभित्रै वसेर सरकारलाई सहयोग गरौ’

डोरमणि पौडेल
१४ चैत्र २०७६, शुक्रबार १७:४७

मानव जातीकै लागि चुनौतीको रुपमा विकसित हुँदै गएको कोविड १९ को संक्रमण आक्रमक हुँदै विश्वव्यापी बनिरहेको बेला प्रदेशबासी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी , दाजुभाइहरुमा यसको संक्रमणबाट बच्न आधिकारिक व्यक्ति तथा संस्थाहरु मार्फत प्राप्त सल्लाह अनुसार विशेष सावधानीहरु अपनाउनु हुन हार्दिक अनुरोध गर्दछु ।

यो हेलचेक्रयाइँ र लापर्वाही गर्ने समय हुँदै होइन । यतिखेर हामी एक व्यक्तिले गर्ने गल्तीले हाम्रा प्राण भन्दा प्यारा आमा, बुबा, छोरा, छोरी, श्रीमान्, श्रीमती, दाजुभाई, दिदीबहिनी हुँदै सिंगो समाजलाई मृत्युको मुखमा पु¥याउन सक्छ । अहिले यस राक्षसी भाइरसका कारण संसारभर सन्त्रास छाएको छ । संसारका अधिकांश देशका नागरिकहरु आफूलाई सुरक्षित राख्न घरभित्र बसेका छन् । हामीले पनि कोरोना विरुद्धको लडाईमा घर भित्रै बसेर राज्यलाई सहयोग गर्नु छ ।

यो अवस्थामा अत्यावश्यक बाहेक घरबाहिर हिँडडुल तथा आवतजावत नगरी घरमै सुरक्षित रुपमा रहेर सम्भावित माहामारीलाई नियन्त्रण गर्न खेल्नुभएको भूमिका प्रति प्रदेशबासी महानुभावहरुमा उच्च सम्मान व्यक्तगर्दै लकडाउनको पालना नगर्ने केही व्यक्तिहरुलाई जिम्मेवार भई लकडाउनको पूर्ण पालनागरि घरभित्रै बसीदिनुहुन समेत हार्दिक अनुरोध गर्दछु । हरेक दृष्टिकोणहरुबाट सम्पन्न र अतिविकसित र सबै सुविधा सम्पन्न देशहरुलाई समेत हम्मेहम्मे पारेको भाइरस नेपालमा समेत तीनजनामा देखा परिसकेको अवस्थामा त्यसलाई फैलिन नदिन नेपाल सरकार बागमती प्रदेश सरकार तथा स्थानीय तहहरु लागेका बेला हामीसबै नागरिकहरुको समेत साथ र सहयोग आवश्यक छ ।

साथै यस्तो बेला सरकारको निर्णय कर्यान्वयनमा दत्तचित्त भई लाग्नुभएका नेपाल प्रहरी, सशस्त्र प्रहरी , नेपाली सेना तथा चिकित्सक एवं स्वास्थ्यकर्मीहरु प्रति हार्दिक धन्यवाद सहित कर्तव्यपथमा निरन्तर लागिरहन अनुरोध गर्दछु । परिस्थितिको गाम्भीर्यता हेरेर सरकारले अझै कडा र प्रभावकारी कदमचाल्न सक्ने भएकोले सजग हुन समेत अनुरोध गर्दछु । लकडाउन लम्बिने अवस्था वा अन्य अवस्थामा खाद्यसामाग्री, औषधोपचार, इन्धन लगायतको अत्यावश्यक सामाग्रीहरुको अभाव हुन नदिन प्रदेश सरकारले विशेष पहलगरी “कोही भोकै नपर्ने, कोहीभोकै नमर्ने” अवस्था श्रृजना गरीने जानकारी समेत गराउँदछु ।

लकडाउनका बेला शहरी क्षेत्रका बजारहरुमा निश्चित समयमा भीडभाड र तछाडमछाडको अवस्था देखिनुले लकडाउनको उद्देश्य र प्रभावकारितालाई शुन्यमा झार्ने देखिन्छ । त्यसैले अत्यावश्यक सामाग्री किन्न जाँदा समेत भीड नहुँनेगरी र एक्लै जाउँ र एक पटक जाँदा केहीदिनलाई पुग्नेगरी ल्याउँ र त्यसरी जाँदा समेत बिशेष सावधानी अपनाउँ ।

गाउँघरमा रहनु भएका किसान दाजुभाइ, दिदीबहिनीहरुले सामाजिक दुरी कायम गरेर खेतबारीको कामहरु गरौं । यस्तो बेला आफूपनि कसैको घरमा पाहुना लाग्न नजाउँ र अरुलाई पनि नबोलाउँ । गाउँघरमा नयाँ मानिसहरु वा भारत लगायत अन्य देशहरुबाट आएका व्यक्तिहरुको बारेमा स्थानीय जनप्रतिनिधि, वडा अध्यक्ष, पालिकाका अध्यक्ष वा नजिकको प्रहरी कार्यालयमा खबर गरौं ।

प्रदेश सरकारको तर्फबाट म बागमती प्रदेशका सम्पूर्ण प्रदेश सभा सदस्यहरु, प्रदेशभरका १ सय १९ वटा स्थानीय तह १ हजार १ सय २१ वटा वडा र त्यहाँ रहनु भएका २ सय ३८ जना प्रमुख उपप्रमुख र ५ हजार ६ सय ५ जना वडा अध्यक्ष सहित स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गर्न चाहान्छु, संवेदनशील भएर आफ्नो क्षेत्रको अवस्था अनुगमन गरौं, जोखिम उत्पन्न हुनसक्ने अवस्थामा प्रहरी प्रशासन समेतको सहयोगमा समस्या समाधान गरौं ।

विदेशबाट आएकाहरुलाई सेल्फ क्वारेन्टाइनमा राखौं वा त्यसबाट जोखिम बढ्न सक्ने अवस्था भए सरकारले व्यवस्था गरेका क्वारेन्टाइनहरुमा स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा राखौं । अन्तर्राष्ट्रिय संकटको यो घडीमा हरेक व्यक्तिहरुले व्यक्तिगत उत्तरदायित्व वहन गर्नु नै राष्ट्रप्रतिको सच्चा सेवा तथा मानवीय मूल्य र मान्यता हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*