लकडाउन नलम्बिए वैशाखबाट टेलिभिजन चलाउँछौँ-निर्देशक एलन

जनपत्र
१३ चैत्र २०७६, बिहीबार १२:४४

चैत १८ गतेदेखि हेटौँडाबाट परीक्षण प्रसारण गर्ने भनिएको बागमती टेलिभिजनको प्रसारण देश लकडाउनुका कारण केही साता पर सर्ने भएको छ । यसै सन्दर्भमा बागमती टेलिभिजनका निर्देशक रामकुमार एलनसंग गरिएको कुराकानी ।

बागमती टेलिभिजन कस्तो टेलिभिजन हो र प्रसारण तयारी कस्तो हुँदैछ ?

प्रदेश ३ को राजधानी र नाम तोकिएपछि त्यही नाममा प्रदेशस्तरको राष्ट्रिय टेलिभिजन सञ्चालन गर्ने हाम्रो समूहको तयारी गएको तिहारताका नै भएको हो । प्रदेश सरकारले बागमती नामकरण र हेटौँडा राजधानी बनाएपछि हामीले प्रसारण योजना बनाएको बागमती टेलिभिजन राष्ट्रलाई राष्ट्रियस्तरको टेलिभिजन हेटौंडाबाट भन्ने नाराका साथ प्रसारण तयारी गरिरहेका छौँ । २४ सै घण्टा प्रसारण हुने बागमती टेलिभिजनमा दैनिक १४ समाचार बुलेटिन हुनेछन् । करेन्ट अफेयर्सका न्युज शो, टक शो, मनोरञ्जन प्याकेजमा विविध लाइभ शो र रेकर्डेड शो हुनेछन् । यो केबल टेलिभिजन हो । तर राष्ट्रभर डिजिटल केबलमार्फत प्रसारण हुनेछ । डिस होममा केही महिनापछि प्रसारण हुनेछ ।

प्रविधिका हिसाबले कस्तो टेलिभिजन हो ?

हाम्रा प्रविधिहरु एचडिबाट पनि फड्को मारेर फोर के प्रविधिका हुनेछन् । अहिले नेपाली म्युजिक भिडियो सिक्स के मा आइसके । दुनियाँ एट केमा गइसक्यो । प्रविधि महँगो भएपनि काठमाडौँबाहिर सञ्चालनमा रहेका टेलिभिजनमा हामी अब्बल प्रविधि भित्र्याउनेछौँ ।

मिडियामा जनशक्ति अभाव छ, काठमाडौँबाट आउनै मान्दैनन्, कसरी चल्छ २४ सै घण्टा टेलिभिजन ?

एउटा प्रतिवद्ध टिम छ, यो टिभीमा बागमती प्रदेशका १३ जिल्लाका खास सामग्री हुनेछ । अब हेटौँडामा पनि मिडियामा आकर्षक तलब र भविष्य छ भन्ने सन्देश दिनेछौँ । हामीसँग शक्ति एफएम १०३ दशमलव ४ मेगाहर्ज पनि छ । अर्को एफएम बागमती एफएम पनि चलाउँदैछौँ । अहिले नै ४० प्रतिशत जति जनशक्ति छन्, हेटौंडाका धेरै मिडियाका साथीहरु हामीसँग हुनेछन् । केही प्रदेशका विभिन्न जिल्ला र काठमाडौँबाट आउनु हुनेछ ।

पत्रकारले तलब पाउँदैनन् भन्ने छ नि ?

२४ वर्ष श्रमजीवी पत्रकार भएँ । यो समस्या आउन दिन्नौँ । आकर्षक सुविधा दिएर हप्तामा ५ दिन काममा लगाउनेछौँ । हाम्रो स्पर्धा राष्ट्रियस्तरको टिभीसँग हुने भएकाले तयारी गरेका छौँ ।

मिडियामा तिलस्मी लगानी हुन्छ भन्छन् नि ?

हाम्रा सबै कारोबार राज्यलाई तिरिएको करकेन्द्रित हुनेछ । पारदर्शी हुनेछ । लगानी हामीले गरेका छौँ । बैंकको किस्ता हामीले तिर्ने हो । कसैको अदृश्य लगानी छैन । ३–४ करोड रुपैयाँ नपत्याउने अवस्थाका होइनौँ हामी ।

अन्य उद्यमहरु पनि छन् ?

हो, हामीसँग अहिले शक्ति एफएम छ, मिडियाबाहेकको अर्को एउटा कम्पनी चलिरहेको छ । मकवानपुर गढी र मनहरीमा थप दुई फरक उद्योग हुनेछ । हेटौंडामै अर्को फरक उद्योग चल्दैछ । बान अन्तर्गत अर्को व्यावसायिक एफएम हुनेछ । बागमती टेलिभिजन र अनलाइन हुनेछ ।

दैनिक पत्रिका पनि चलाउने तयारी हो कि ?

हो, तर यो काम हेटौंडाका अरु सञ्चारगृहले गरिरहेका छन् । हामीले रंगीन ८ पृष्ठको दैनिक तयारी गरेका छौँ । तर अहिले बागमती टिभी र दुई एफएम प्रसारण नै प्राथमिकतामा छ ।

टेलिभिजन प्रसारण कहिलेदेखि हुनेछ ?

हामीले चैत १८ गते परीक्षण प्रसारणको तयारी गरेका हौँ । देश लकडाउन भएकाले सार्नै पर्ने भयो । लकडाउन थपिएन भने २०७७ वैशाख १ गते हुनेछ ।

बागमती टेलिभिजन नै नाम किन राख्नु भयो ? 

माथि नै भनेँ नि, प्रदेशको नाममा टेलिभिजन चलाउने तयारी ४ महिनाअघिको हो । प्रदेशको नाम शैलुङ भए, त्यही नाम हुन्थ्यो । प्रदेशको नाम नेवा ताम्सालिङ भए त्यही नाममा इजाजत पत्र लिन्थ्यौँ । अरु समूहले यही नाममा इजाजत पत्र लिन खोजेको विषय हामीलाई जानकारी छैन । तर हाम्रो तयारी पुरानै हो । व्यक्तिगत चाहनामा त म टेलिभिजनको नाम आमाको नाममा राख्न चाहन्थेँ च्यानल चन्द्रमा । चन्द्रा मेरो आमाको नाम हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*