फोटो खिच्दा नदीमा खसेका भारतीय नागरिक सात दिनपछि फेला

जनपत्र
१ चैत्र २०७६, शनिबार ०६:४५

फोटो खिच्ने क्रममा लडेर तमोर नदीमा खसेका भारतीय नागरिक २६ वर्षीय भिनित शर्माको शव एपीएफ टोलीले सात दिनपछि शुक्रबार फेला पारेको छ । नोवेल मेडिकल कलेज विराटनगरमा अध्ययनरत शर्मा २४ फागुनमा उक्त नदी किनारमा फोटो खिच्ने क्रममा नदीमा खसेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेक्वा छिन्ताङ्ग धनकुटाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सचिन कर्माचार्यसहित एपीएफ टोली उद्धारमा जुटेको थियो । तीनजना गोताखोरसहित १५ जना विपद् व्यवस्थापन तालिम प्राप्त उद्धार टोली पनि उद्धार कार्यमा जुटेको थियो।

सहिदभूमि गाउँपालिका–१ स्थित गोपालपुर भन्ने ठाउँबाट सशस्त्र प्रहरी सहायक निरीक्षक मनोज श्रेष्ठको कमाण्डमा रहेको एपीएफ टोलीले शुक्रबार दिउँसो निज शर्माको शव फेला पारेको हो। त्यसठाउँमा ती व्यक्तिको शव भेटिएपछि एपीएफ टोलीले डोरी तथा स्ट्रेचरको सहायताले शवलाई निकालेको हो ।

नदीको वहाव तीव्र भएका कारण उद्धार कार्यमा कठिनाइ भएको प्रहरीले बताएको छ । उक्त खोजीकार्यमा एपीएफ टोलीलाई स्थानीय जनता तथा अन्य निकायले समेत सहयोग पुर्‍याएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*