नागरिकता संशोधन कानुनको विषयमा दिल्लीमा भड्कियो हिंसा, एक प्रहरी हवल्दारसहित तीन जनाको मृत्यु

नागरिकता संशोधन कानुन ‘सिएए’ को विषयमा उत्तर(पूर्वी दिल्लीमा दोस्रो दिन सोमवार पनि हिंसा भड्किएको छ। दिल्लीको जाफराबाद तथा मौजपुर क्षेत्रमा सिएए विरोधी र समर्थकबीच झडप हुँदा एक प्रहरी हबल्दार र दुई जना सर्वसाधारणको मृत्यु भएको छ।
टाउकोमा ढुंगाले लागेर हवल्दार रतन लालको मृत्यु भएको हो भने गोली लागेर एक जना प्रदर्शनकारीको ज्यान गएको छ। हिंसात्मक झडपमा घाइते भएका एक अर्का प्रदर्शनकारीको पनि सोमवार राति मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। हिंसामा अन्य केही घाइते भएका छन्।
प्रदर्शनकारीले सडकमा रहेका सवारी साधनमा आगो लगाएका छन्। भजनपुरास्थित पेट्रोल पंप समेत प्रदर्शनकारीले आगो गाएको बुझिएको छ।। जाफराबादमा प्रदर्शनकारीहरुले खुलेआम पिस्तोल नचाउँदै फायरिङ गरेका थिए। आइतवार साँझ भाजपाका नेता कपिल मिश्राले सडक खुलाउन पहल गर्दा पहिलो पटक हिंसा भड्किएको थियो।