मकवानपुरको भिमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणको तयारी
हेटौंडा । हेटौंडा–काठमाण्डौं छोटो दुरीको मार्ग अन्तरगत मकवानपुरको भिमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण सुरु गर्नका लागि बागमती प्रदेश सरकारले अन्तिम तयारी गरेको छ ।
बागमती प्रदेश सरकार गठन भएदेखि यो दुईवर्षको अवधी सम्मका लागि प्रदेशको गौरवको आयोजना भित्र भिमफेदी–कुलेखानी सुरुङमार्ग पर्छ । यसभन्दा अगाडी सुरुङमार्ग निर्माणको कुरा मात्रै गरेपनि अहिले भने साच्चै काम थालिएको छ । सुरुङमार्ग निर्माण गरेर हेटौंडा काठमाण्डौको दुरी छोटो पार्ने योजनाका साथ काम गरिएको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले वताउनुभयो ।
बिशेषगरी छोटो दुरीको मार्ग अन्तरगत भिमफेदी देखि कुलेखानी सम्मको १६ किलोमिटरको अप्ठेरो बाटोको दुरीलाई छोट्याएर काम गर्न लागिएको हो । १६ किमी सडक छोटो हुने वित्तिकै हेटौंडाबाट काठमाण्डौं ६५ किमी दुरी मात्र हुन्छ । सुरुङमार्ग निर्माण भएपछी वढीमा दुइ घण्टामा काठमाण्डौ पुग्नेगरी तयारी थालिएको हो । एउटा सुरुङ निर्माण गर्ने र बाँकी सडक फराकिलो वनाएर सहज रुपमा काठमाण्डौ ओहोर दोहोर गर्ने वातावरण वनाउन प्रदेश सरकार लागेको हो ।

सुरुङमार्ग निर्माणको अध्ययन गर्न सात वटा टोली फिल्डमै
बागमती प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा निर्माण गर्न लागेको सुरुङमार्ग निर्माण भन्दा अगाडी अध्ययन गर्नका लागि मन्त्रालयले सातवटा टोली खटाएको मन्त्रालयका सचिव भट्टले वताउनुभयो । सात वटै टोलिले फरक–फरक काम गरिरहेका छन् । हुनत यस भन्दा अगाडी वषैदेखि सुरुङमार्ग निजी क्षेत्र र सरकारी स्तरबाट पनि वनाउने भनेर फिल्डमा धेरै खटाइयो । सर्वे र डिपीआर पनि निजी क्षेत्रबाट वनेका छन् । निजी क्षेत्रले निर्माण गर्ने भनेको सुरुङमार्गका लागि पुजा गरियो । तर, काम सुरु हुन पनि सकेन । बागमती प्रदेश सरकारले भने काम गरेर देखाउने भनेर लागेको छ ।
आउँदो बैशाखमा सुरुङमार्गको टेण्डर
भिमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि आउँदो वैशाख महिनामा टेण्डर गर्ने गरी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले काम गरिरहेको छ । प्रदेश सरकारले यो सुरुङमार्ग निर्माणको काम दुईवर्ष भित्रमा सक्नेगरी टेण्डर लगाउन लागेको हो ।
प्रदेश सरकार गठन भएदेखिनै सुरुङमार्ग निर्माण गर्ने भनिएपनि कामले गति पाउन सकेको थिएन । तर, अव टेण्डर समेत गर्ने सुनिश्चितता भइसकेको मन्त्रालयका सचिव भट्टले वताउनुभयो । टेण्डरको काम सकेर चालु आर्थिक वर्षकै असार महिनाको अन्तिममा भनेपनि सुरुङमार्गको शिलान्यास गर्ने प्रदेश सरकारको तयारी छ ।
प्रदेश गौरवको आयोजना सुरुङमार्गका लागि वजेट एक करोड, काम सक्न १३ अर्ब लाग्ने अनुमान
बागमती प्रदेश सरकार गठन भएको दुईवर्ष पुगेको छ । प्रदेश सरकारले वषै पिच्छे यो सुरुङमार्गलाई प्रदेश गौरवको आयोजनाका रुपमा भन्दै आएको छ । तर, चालु आर्थिक वर्षको वजेट कितावमा भने सुरुङमार्गका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले एक करोड रुपैयाँ मात्र छुट्याएको छ ।
प्रदेश सरकारले भने अनुसार दुईवर्षमा काम सक्न १३ अर्ब लाग्ने अनुमान छ । तर, सुरुङमार्ग निर्माणका लागि वजेटको कुनै कमी नहुने बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले वताउनुभयो । यतीका धेरै रकम दुईवर्षको अवधिमा प्रदेश सरकार आफैले मात्र यो एउटा योजनाका लागि छुट्याउन सक्दैन । सात वटा मन्त्रालयका एक हजार भन्दा वडी योजना चालु आर्थिक वर्षको वजेट कितावमा पनि उल्लेख छ । तर, संघीय सरकारसंगको सहकार्यमा भएपनि सुरुङमार्ग निर्माणमा वजेट अभाव नहुने उहाँले वताउनुभयो ।







