जापान रोजगारी : लक्की ड्र हटाउन प्रस्ताव राख्ने नेपालको तयारी

आगामी मार्चमा हुने नेपाल–जापान संयुक्त कार्यदलको बैठक ‘ज्वाइन्ट कमिटी’ को बैठकमा नेपालले लक्की ड्र प्रणाली हटाउने प्रस्ताव राख्ने तयारी गरेको छ।
यो प्रणालीकारण नेपालमा भाषा तथा सीप परीक्षाको नतिजा कमजोर देखिएसँगै कमिटीले सो प्रस्ताव राख्ने तयारी गरेको हो। तर उक्त प्रस्ताव जापानले स्वीकार गर्ला या नगर्ला भन्ने प्रश्न उब्जिएको छ। लक्की ड्र प्रणाली जापानले भाषा तथा सीप परीक्षामा युवाहरु सामेल गराउनका लागि छनोट गर्ने प्रकृया हो। यसमार्फत् परीक्षाका लागि युवाहरु छनोट गर्दा भाषामा दख्खल भएकाभन्दा भाषासम्बन्धी कुनै ज्ञान नै नभएका युवा छनोटमा पर्ने सम्भावना रहन्छ । जसले गर्दा पनि नतिजा एकदमै कमजोर देखिएको हो।
यो प्रणाली हटाइयो भने जापान रोजगारीमा जान ईच्छुक सबै युवा परीक्षामा सहभागी हुन सक्नेछन्। ‘ज्वाइन्ट कमिटीको बैठकमा राख्ने प्रस्ताव हामीले राखेका हौँ, जापानले यसलाई स्वीकार गरेको छ, अब लक्की ड्र सम्भवतः नरहन सक्छ’, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले भने।