चीनमा कोरोना भाइरससम्बन्धी निष्कर्ष सार्वजनिक : वृद्धवृद्धा र बिरामी बढी जाेखिममा

जनपत्र
७ फाल्गुन २०७६, बुधबार ०६:३९

चीनमा कोरोना भाइरस सङक्रमण सुरू भएयताकै सबैभन्दा बृहत अध्ययनको निष्कर्ष सार्वजनिक भएको छ । चिनियाँ स्वास्थ्य अधिकारीले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा ७० हजारभन्दा धेरै सङ्क्रमणका विवरणहरू समेटिएका छन् । चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कले ८० प्रतिशतभन्दा बढी सङ्क्रमणमा मध्यम तहका र बिरामी तथा बुढाबुढीमा धेरै जोखिम रहेको देखाएको छ ।

अध्ययनले स्वास्थ्यकर्मी पनि उच्च जोखिममा रहेको देखाएको छ । चीनको वुहानमा मंगलबार उपचारका क्रममा एक जना अस्पताल निर्देशकको ज्यान गएको छ । वुहान शहरको वुचाङ्ग अस्पतालका वरिष्ठ न्युरोसर्जन लिउ झिमिङ्गको ५० वर्षको उमेरमा निधन भएको हो । वुचाङ्ग अस्पताल कोरोना भाइरस सङ्क्रमितहरुको उपचार गर्न रेफर गरिने वुहान राज्यको प्रतिष्ठित अस्पताल हो ।

यसअघि चीनमा कोरोना भाइरसको सङ्क्रमण खतरनाक हुन सक्ने भन्दै सबैभन्दा पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको ज्यान गएको थियो । चीनमा कोरना भाइरसका कारण अहिलेसम्म १८ सय ६८ जनाको ज्यान गएको चीनको स्वास्थ्य आयोगले जनाएको छ । कोरोनाका कारण चीनबाहिर चार जनाको ज्यान गइसकेको छ । फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एकरएक जनाको ज्यान गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*