मकवानपुरको ईन्द्रसरोबरमा गुफा, त्यहाँबाट गोसाइँकुण्ड पुगिने कथन (भिडियो सहित)

हेटौंडा/मकवानपुरको उत्तरी क्षेत्र ईन्द्रसरोबर गाउँपालिका ५ सिमपानीमा निक्कै गहिरो प्राकृतिक गुप्तेश्वर महादेब गुफा छ । मकवानपुरको सदरमुकाम हेटौंडा, भिमफेदी, कुलेखानी हुँदै महालक्ष्मी खोला पुगेपछि देब्रेतिरको चखेल मातातिर्थ जाने कच्ची बाटो हुँदै त्यहाँ पुग्न सकिने त्यसैगरि काठमाण्डौ, फर्पिङ, फाखेल हुँदै महालक्ष्मी खोलाबाट दाहिनेतिरको चखेल मातातिर्थ जाने कच्ची बाटो हुँदै त्यहाँ पुग्न सकिने, भने चद्रगिरि चखेल हुँदै पनि पुग्न सकिने आग्लो दुई डाडाँ बिचको सानो बस्ती सिमपानी हो ।
सिमपानीसम्म सवारी साधन जानको लागि सडकको सुविधा छ । त्यही बस्ती भन्दा अलिकति माथि करिब १० मिनेटको पैदल यात्रापछि पुगिने ठाउँमा प्राकृतिक गुप्तेश्वर महादेब गुफा छ । गुप्तेश्वर महादेब गुफामा मंशिर पुर्णिमाको दिनमा भव्य मेला लाग्ने गर्दछ । मेलामा दर्शन गर्न जानको लागि सिँढी र गुफा भित्र बत्तिको पनि व्यवस्था गरिएको छ । गुफा कति गहिरो छ भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन । अझ रोचक कुरा प्राकृतिक गुप्तेश्वर महादेब गुफाबाट गोसाईकुण्ड निस्कने बाटो भएको जनआस्था छ ।
बि. स. १९९० तिर गाउलेहरु घाँस काट्न जाने क्रममा गुफाको नजिक पुग्दा धुपको बास्ना आए पछि गाउँले सबै मिलेर गुफा भित्र छिरेर हेर्दाखेरि गुफाको भित्र सिता आमा भन्ने एक बुढी आमा नेपालमा राणा शासनको अन्त्य होस भनेर तपस्यमा बस्नु भएको भेटिएको र पछि राना शासनको अन्त्यसंगै ति बुढी आमाको त्यही गुफाभित्र आगोमा जलेर मृत्यू भएको त्यही गुफामा सिता आमाको तपस्य शिद्धी भएपछि गुप्तेस्वर महादेवले सबैको मनोकामना पुरा गराउने बिस्वासका साथ पुजा सुरु गरेको पहिलेको बुढापाकाहरुले बताउनु भएको स्थानियवासी मुक्ति लामाले बताउनु भएको छ । गुफाको प्रवेशद्धार सानो भएपनि भित्र प्रवेश गरेपछि फराकिलो ठाउँ छ । गुफामा प्रवेश गरेपछि भित्र पुरै अँध्यारो छ गुफभित्र जाने बाटोमा बत्तिको व्यवस्था भएपनि मेला लागेको दिनमा मात्र बाल्ने गरेको स्थानिय बिशाल थोकरले बताउनु भयो ।
गुफाको चारै तिर भित्तामा बिभिन्न आकृतीहरु देख्न पाईन्छ । बिशेषगरि यस गुफाको भित्ता देखिने आकृतीहरु सितारा जस्तै टिलपिल टल्किरहेको देख्न पाईन्छ । गुफाको द्धारबाट भित्र करिब २०० मिटरमा प्राकृतिक गुप्तेश्वर महादेबको थान छ । यो ठाउँबाट अझै भित्र जाने ठाउँ छ । यो ठाउँबाट ३ घण्टा भित्र जाँदा पनि गुफाको अन्तिम बिन्दु नभेटेको स्थानिय अशोक रुम्बाको भनाई छ ।
प्राकृतिक गुप्तेश्वर महादेब गुफाले पर्यटनको निक्कै सम्भावना बोकेको छ । प्रचार प्रसारको अभावमा यस्ता निक्कै महात्वपूर्ण स्थानहरु अझै ओझेलमा पर्नु भनेको नेपाल र नेपालीको लागि दुखको कुरा हो । यस्ता प्राकृतिक गुफाहरुको संरक्षण सम्बर्धन र प्रबर्धन गर्नु हामी सबैको दायित्व हो । हामीले अरुलाई घुम्न बोलाई रहँदा आफुले चाँही घुम्न पो बिर्सियौ कि ? प्राकृतिक गुप्तेश्वर महादेब गुफाको संरक्षण सम्बर्धन र प्रबर्धनमा नेपाल सरकार, स्थानिय सरकार र आम नेपाली नागरिकले ध्यान दिने हो भने भिजिट नेपाललाई सफल बनाउन निक्कै सहयोग मिल्ने छ ।
हेर्नुस पुरा भिडियो