६ महिनामा ४ खर्ब ४७ अर्ब रेमिट्यान्स भित्रियो

चालू आर्थिक वर्षको सुरुवातमा ओरालो लागेको रेमिट्यान्स भित्रने क्रममा सुधार आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ६ महिनामा ४ खर्ब ४७ अर्ब २६ करोड बराबरको रेमिट्यान्स आप्रवाह भएको छ।
सो अवधिमा विप्रेषण आप्रवाह ०.९ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३०.२ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १७.६ प्रतिशतले बढेको थियो।
अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या पुस मसान्तसम्म १७.७ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३७.३ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले बढेको छ।
यस्तै गत पुस मसान्तसम्मको अवधिमा खुद ट्रान्सफर आय ०.१ प्रतिशतले वृद्धि भई पाँच खर्ब ६ अर्ब ५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २८.७ प्रतिशतले बढेको थियो ।