चीनबाट ल्याइने विद्यार्थीलाई नभेट्न अपिल : १४ दिन क्वारेन्टाइनमा राखिने, २४ सै घण्टा निगरानी

जनपत्र
३ फाल्गुन २०७६, शनिबार ०६:४३

चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई उनीहरूका आफन्तले तत्काल भेट्न नपाउने भएका छन् । ती नेपालीले आफन्त र अभिभावकसँग भेट गर्न कम्तीमा दुई साता क्वारेन्टन स्थलमा बिताउनुपर्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई त्रिभुवन विमानस्थल र क्वारेन्टाइनस्थलमा भेटघाट नगर्न अभिभावकसँग अपिल गरेको हो । सरकारले चीनको वुहान सहरमा रहेका १ सय ८५ नेपालीलाई छिट्टै फर्काउने तयारी गरेको छ । उनीहरूलाई खरिपाटीस्थित क्वारेन्टाइन स्थलमा राखिनेछ ।

सुरक्षा संवेदनशीलता एवं उच्च स्वास्थ्य जोखिमका कारणले विमानस्थल र क्वारेन्टाइनस्थलमा परिवारका सदस्यलाई भेट्न रोक लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

मन्त्रालयले क्वारेन्टाइन स्थल वरपरका समुदायका बासिन्दामा सम्भावित संक्रमणबारे त्रसित नरहन र संयमित व्यवहार गरिदिन आग्रह गरेको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइन स्थलमा रोग प्रसार हुन सक्ने सम्भावित तरिकाको रोकथामका लागि सम्पूर्ण सावधानी अवलम्बन गरिएको छ । अन्नपूर्णपोष्टबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*