मेक्सिकोको ‘ड्रग वार’ मा ६० हजार भन्दा बढी बेपत्ता !

मेक्सिकोको आधिकारिक निकायका अनुसार २००६ मा देशले ड्रग्स विरुद्धको लडाईँ सुरु गरेदेखि ६० हजार मानिस बेपत्ता भइसकेका छन् । सो सङ्ख्या यसअघि अनुमान गरिए भन्दा धेरै रहेको बताइएको छ । गत वर्ष मात्र मेक्सिकोमा ड्रग्सकै कारण ३१ हजार मानिसको हत्या भएको पनि तथ्याङ्कले देखाएको छ ।
यसरी त्यहाँ ड्रग्सको कारोबार गर्न ठुल्ठुला अपराधिक समुहको संलग्नता हुँदा सुरक्षा बल पनि हत्या र बेपत्ताका घटनाका लागि दोषी ठहरिने गरेका छन् । हराएकाहरु मध्ये ५३ प्रतिशत १५–३५ वर्षबीचको भएको र ७४ प्रतिशत पुरुष रहेको बताइएको छ । यी तथ्याङ्कहरु १९६४ देखि रेकर्ड गर्न थालिएको भए पनि अधिकांश मानिसहरु २००६ पछि बेपत्ता भएको बताइएको छ जसबेला तत्कालीन राष्ट्रपति फिलिप काल्डेरियनले ड्रग्स कारोबार विरुद्ध कारबाही सुरु गरेका थिए ।
त्यसैबेलादेखि सुरु भएको सो समस्या यसबीच दुईपटक सरकार परिवर्तन भइसक्दा पनि समाधान हुन सकेको छैन । गत वर्ष मात्र पाँच हजार भन्दा धेरै मानिसहरु बेपत्ता भएको राष्ट्रिय खोज विभागकी कार्ला क्वीनटानाले सोमबारको प्रेस सम्मेलनमा बताएकी हुन् । उनले भनेकी छन्, “यी डाटाहरु वास्तवमै भयानक छन् जसका पछाडि हजारौँ परिवारका दुःखद् र पीडादायी कथाहरु लुकेका छन् । ”
यसरी मेक्सिकोको तथ्याङ्क ल्याटिन अमेरिकाको सबैभन्दा खराब डाटा भन्दा भयानक रहेको बताइएको छ । जस्तै ग्वाटेमालाको ३६ वर्ष लामो गृह युद्धमा समेत ४० हजार मात्र बेपत्ता भएका थिए जनु १९९६ मा अन्त्य भएको थियो । यसैगरी १९७६ –१९८३ मा अर्जेन्टिनाको सैन्य शाषनको बेलामा पनि तीस हजार बढी बेपत्ता भएको पाइएको थियो । मेक्सिकोको मानव अधिकार सचिव एलेजेन्ड्रो एन्किनास रोड्रिग्युजले बताए अनुसार २०१८ मा राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज अब्राडोर सत्तामा आएदेखि मात्र ८७३ रहस्मयी चिहानहरुमा एक हजार बढी शव फेला परिसकेको छ । यसअघि उनले देशलाई लडाईँ र हिंसाको अवस्थाबाट बाहिर ल्याउने र शान्ति स्थापना गर्ने वचन दिएका थिए । त्यतेबला मेक्सिकोमा हत्याको दर सबैभन्दा उच्च बिन्दुमा पुगेको थियो । यस्तोमा उनले नयाँ राष्ट्रिय सुरक्षा व्यवस्था सिर्जना गरि हिंसा विरुद्ध लागिपर्ने भनेका थिए तर जागिरका क्रममा ज्यान जाने डरका कारण एकदम थोरै सुरक्षाकर्मी मात्र यसमा सहभागी भएका हुन् । बिबिसी