हेटौंडामा विमानस्थल बनाउन सांसदको माग

जनपत्र
२७ पुष २०७६, आईतवार ०६:२६

प्रदेश ३ का प्रदेशसभा सदस्यहरूले हेटौंडामा आन्तरिक विमानस्थल बनाउन माग गरेका छन् । प्रदेशसभा सदस्य विद्या श्रेष्ठले प्रदेश–३ को राजधानी हेटौंडामा आन्तरिक विमानस्थलको सुविधा पनि हुनुपर्ने बताएकी छिन् ।

प्रदेश राजधानीमा अन्य भौतिक पूर्वाधारको विकास भए पनि हवाई यातायात नहुँदा सबैलाई असहज भएको उनको भनाइ छ । ‘भीमफेदी–कुलेखानी शुरूङमार्गको डीपीआरको काम भइरहेको छ, फाष्ट ट्र्याक, कान्तिराजपथ, धरानचतरा सडक सञ्चालनमा आएपछि हेटौंडा केन्दीय राजधानीबाट समेत दूरी नजीक हुनेछ,’ उनले भनिन्, ‘विगतमा १९ जिल्ला ‘मध्यमाञ्चल विकास क्षेत्र’ को सदरमुकाम भएको हेटौंडामा प्रदेश–३ राजधानी उपयुक्त हुन्छ ।’

भौगोलिक वातावरण, व्यापारिक केन्द्र, राष्ट्रिय राजमार्गको सहजता, मन्त्रालयका लागि चाहिने भौतिक संरचना सहज उपलब्ध भएकाले हेटौंडालाई राजधानी बनाउनुपर्ने प्रदेशसभा सदस्य मुनु सिग्देलले बताइन् । सबै सुविधा भएर पनि आन्तरिक विमानस्थलको अभाव रहेको सिग्देलको धारणा छ । आन्तरिक विमानस्थल पनि भयो भने हेटौंडामा कुनै सुविधाको कमी नहुने सिग्देलको भनाइ छ ।

हेटौंडामा विमानस्थल आवश्यक रहेको भन्दै हेटौंडा–३ बसामाडीको राप्ती नदीउकास जमिनमा तटबन्ध गरेर आन्तरिक विमानस्थल निर्माण गर्ने विषयमा प्रदेश सरकारले अध्ययन गरिरहेको बताइएको छ । बसामाडीका बासिन्दाले मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष राप्तीको नदीउकास जमीनमा विमानस्थल निर्माण गर्न माग गरेपछि प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्न लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*