१२२ चिनियाँलाई देश निकाला गरिँदै, आजै चीन पठाउने तयारी
काठमाडौंमा पक्राउ परेका १२२ चिनियाँलाई देश निकाला गरिने भएको छ । अध्यागनम विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार आवश्यक सबै प्रक्रिया पूरा गरेर उनीहरुलाई देश निकाला गर्न लागिएको हो । १२२ चिनियाँलाई बुधबार डिपोर्ट गर्न लागिएको तिवारीले बताए ।
नेपालमा बसेर चीनमा विभिन्न अपराधमा संलग्न भएको आरोपमा पुस २३ गते उनीहरु पक्राउ परेका थिए । स्रोतका अनुसार उनीहरुलाई लैजानका लागि नेपाली विमान नै चिनियाँ पक्षले चाटर्ड गरेको छ ।तिवारीका अनुसार उनीहरु सबैको ट्राभल डकुमेन्टको अनुसन्धान गरिएको थियो ।उनले भने,‘‘नियमित रुपमा हामीले हाम्रो कानुनविपरीत काम गर्नेहरुलाई डिपोर्ट गरेकै छौं । यो संख्या ठूलो भएर चर्चा भएको हो ।’’
पक्राउ परेका सबै चिनियाँ पर्यटक भिसामा नेपाल आएको खुलेको छ । प्रहरीले चीनमा गम्भीर अपराधमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको बताएको थियो । पक्राउ परेका सबैलाई अभद्र व्यवहारमा सामान्य मुद्दा चलाइएको थियो । सुरक्षा अधिकारीका अनुसार ताइवानलगायत हङकङ, भियतनाम, कम्बोडियालगायतका देशहरुका ‘एन्टी चाइनिज’ नागरिकले चीनको अर्थतन्त्रमा ठूलो असर पार्ने अपराधिक योजना बनाएका थिए ।
त्यही क्रममा चीनले केन्या, जापान, उत्तर कोरिया, दक्षिण कोरिया, थाइल्यान्ड, बर्मुडा, मलेसिया, फिलिपिन्स, अष्ट्रेलिया, कम्बोडिया र दक्षिण अमेरिकाबाट हजारौं चिनियाँलाई पक्राउ गरेर चीन लगेको थियो । त्यसका लागि नेपालमा सहकार्य गरेजस्तै चिनियाँ सुरक्षा ऐजेन्सीले सहयोग गरेको थियो ।
चिनियाँ सुरक्षा अधिकारीले नेपाल प्रहरीलाई दिएको जानकारी भने चिनियाँ नागरिकले नेपालमा बसेर अनलाइन सट्टेबाजी, फुटबल म्याच फिक्सिङ, ग्लाम्बलिङ, मानव तस्करी, यौनजन्य क्रियाकलापको भिडियो निर्माण, फेक अकाउन्ट, ह्याकिङ गर्ने योजना बनाएका थिए ।






