कश्मीरमा अस्ताएका गोर्खाली अर्जुनको भारतमै अन्त्येष्टि
गत पुसको पहिलो साता मात्रै गाउँबाट कश्मीर फर्किएका गोरखा नगरपालिका(५ ठुलोरिपका अर्जुन थापाले बुधबार ज्यान गुमाउन पुगे। एकमहिने बिदामा पल्टन फर्केका अर्जुन कहिल्यै नफर्कने गरी लडाइँको मैदानमा ढले। उनै अर्जुनको शुक्रबार भारतको बागडोगरमा अन्त्येष्टि गरिएको छ। भारतको पश्चिम बङ्गाल राज्यस्थित बागडोगरा सैनिक क्याम्पमा परिवारको उपस्थितिमा उच्च सम्मानका साथ अर्जुनको अन्त्येष्टि गरिएको हो। अर्जुनसँगै ज्यान गुमाएका गुमाएका अर्का भारतीय सैनिक सावन्त सन्दीप रघुनाथको पनि अन्त्येष्टि गरियो। मृतक सैनिकद्वयको पार्थिव शरीरमा भारतीय सैनिक कमाण्डर र अन्य सरकारी अधिकारीले माल्यार्पण गर्दै श्रद्धाञ्जली दिए। यही बुधबार जम्मू(कश्मीरको रजौरी जिल्लास्थित सीमा क्षेत्र नौशेरामा चरमपन्थीसँगको भिडन्तमा गोर्खा सैनिक अर्जुन र भारतका सन्दीप मारिएका थिए।





