चीनले पाँच लाख मुस्लिम बच्चाहरुलाई स्कुल पठायो, अभिभावक नजरबन्द शिविरमा

चीनले उइगर मुसलमानहरुलाई कसरी प्रताडित गरिरहेको छ भन्ने सञ्चारमाध्यममा आएका पछिल्लो उदाहरणले जोसुकैलाई झस्काउँछ । चीन सरकारले मुस्लिम बच्चाहरुलाई बोर्डिङ स्कुलमा पठाएर उनीहरुका अभिभावकलाई नजरवन्द शिविरमा राखेको छ ।
न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार लाखौं उइगर र कजाक मुस्लिमलाई नजरबन्द शिविरमा राखिएको हो । जबकि पाँच लाख मुस्लिम बालबालिकालाई बोडिङ स्कुलमा पठाइएको छ । चीनको शिनजियांग प्रान्तमा यस्ता सयौं बोडिङ स्कुल खुलेका छन् जहाँ मुस्लिम बच्चाहरुलाई पढाइन्छ । उनीहरु स्कुलमा प्रायः रोइरहन्छन् । किनकि उनीहरुलाई आफ्ना बाबुआमा भेट्न दिइँदैन ।
रिपोर्ट अनुसार एक बच्चीका बाबुको मृत्यु भइसकेको छ । जबकि उनकी आमालाई नजरबन्द शिविरमा पठाइएको छ। स्थानीय प्रशासनले बच्चीलाई परिवारसंग पठाउनुको सट्टा बोर्डिङ स्कुल पठाएको हो । चीन सरकारले यसलाई फरक तरिकाले परिभाषित गरिरहेको छ । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले यस्ता स्कुल गरिबका बच्चाहरुका लागि तयार गरेको हो जसका अभिभावक सुदूर इलाकामा काम गर्छन् र उनीहरुलाई बच्चाहरुको हेरचाह गर्ने समय हुँदैन ।
रिपोर्टमा शिनजियांग प्रान्त सरकारले ८०० भन्दा बढी इलाकामा एक या दुई स्कुल खोल्ने योजना बनाएको दावी गरिएको छ ।