भारतीय प्रहरीले समात्यो छोटा राजनका सहयोगी !

अन्डरवर्ल्डका नाइकेका रुपमा चिनिएका छोटा राजनका निकट सहयोगी अमर बाबुराओ वाघलाई हिजो बुधबार भारतीय प्रहरीले मुम्बईबाट पक्राउ गरेको आजका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
अमर सन् १९९३को एउटा डकैती काण्डमा मुछिएका थिए । उनी सुरुमा पक्राउ परेकोमा पछिल्ला २२ वर्षदेखि नाम र हुलिया बदलेर लुक्दै आइरहेका थिए । मुम्बई प्रहरीले उनी अन्य हत्या र असुलीको कार्यमा पनि संलग्न भएको अनुमान गरेको छ ।
१९९३को डकैती प्रकरणमा उनको विरुद्धमा स्थानीय साम्ता नगर प्रहरी स्टेसनमा उजुरी परेको थियो । प्रहरीले पक्राउ गरेकोमा उनी पछि सन् १९९७मा धरौटीमा रिहा भएका थिए । रिहा भएपछि पनि अन्य गतिविधिमा संलग्न भएपछि अदालतले सोही वर्ष दोषी ठहर गरेको थियो । उनले सन् १९९७मा मुश्लिम धर्म अपनाएर मुश्लिम महिलासँग विवाह पनि गरेका थिए ।
उनले आफ्नो नयाँ परिचय यासिन मोहम्मद खान बनाएका थिए । उनले आफ्नो हुलिया पनि बदलेको बताइएको छ । स्थानीय प्रहरीले उनको बारेमा दुई महिना लगाएर तथ्य जम्मा गरेपछि पक्राउ गरिएको जनाएको छ । निजलाई स्थानीय नाला सोपरास्थित घरबाट गिरफ्तार गरिएको जनाइएको छ । सुरुमा उनले आफ्नो परिचय लुकाउन खोजे पनि प्रहरीले सबै कागजात देखाएपछि स्वीकार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ‘एजेन्सी’