एसियाली क्षेत्रमा अमेरिकामाथि हावी हुँदैछ चिनियाँ सेना

एसियाली क्षेत्रको प्राथमिक सेना मानिएको अमेरिकी सैन्य बलले सो शिर्षक गुमाइरहेको एक नयाँ रिपोर्टले जनाएको छ । द्रुत गतिमा आफ्नो सेना र हतियार सुधार गरिरहेको चीनका मिसाइलले अमेरिकी बेसलाई केही घण्टामै नियन्त्रणमा लिन सक्ने बताइएको छ । युनिभर्सिटी अफ सिड्नी स्थित ‘युनाइटेड स्टेट्स स्टडी सैन्टर’ ले गरेको उक्त अध्ययनमा इन्डो–प्यासेफिक क्षेत्रमा अमेरिकी प्रतिरक्षा नीतिले अप्रत्यासित संकटको सामना गर्नु परेमा वा चिनियाँ सेनासँग लड्नु परेमा ठूलो संघर्ष गर्नुपर्ने देखाएको हो ।
यस्तोमा अष्ट्रेलिया, जापान लगायत अरु अमेरिकी पार्टनरहरुले सो क्षेत्रमा संयुक्त फोर्स निर्माण गरि अमेरिकासँगको सहकार्य मार्फत सुरक्षा सुनिश्चित गर्नुपर्ने रिपोर्टमा उल्लेख गरिएको छ । सो अध्ययनले चिनियाँ सेनाले अमेरिका लगायत अन्य शक्तिशाली राष्ट्रहरुको तुलनामा ठुलो स्तरमा हतियार आधुनिकीकरण र विशेषगरी मिसाइल निर्माण गरिरहेकाप्रति केन्द्रित गराएको छ । “चीनले अमेकिराको सैन्य व्यापकता कम गर्नकै लागि सटिक मिसाइल र अत्याधिक सङ्ख्यामा जवाफी हस्तक्षेप प्रणाली तैनाथ गराएको छ र सो मिसाइलहरु हजारौँको सङ्ख्यामा छ,” रिपोर्टले उल्लेख गरेको छ ।
वेस्टर्न प्यासिफिकमा रहेका अधिकांश अमेरिकी सैन्य स्थल सहित सहयोगी राष्ट्रका बेस समेत लडाईँ सुरु भएमा चिनियाँ हतियारका अगाडि काम नलाग्ने साबित हुने रिपोर्टले चेतावनी दिएको हो । यो विषयमा सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले सो रिपोर्ट नहेरेपनि आफ्नो देशको सैन्य नीति प्रतिरक्षात्मक प्रकृतिको भएकामा जोड दिएका हुन् । उनले भनेका छन्, “चीन अहिले स्थिर रुपमा शान्तिपूर्ण विकासको पथमा छ र हाम्रो राष्ट्रिय नीति पूर्ण रुपमा रक्षात्मक प्रकृतिको रहेको छ । ” अमेरिकी रक्षा विभाग पेन्टागनले यसबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
यसरी यो रिपोर्ट पेन्टागनका लागि कुनै आश्चर्य नहुने बताइएको छ । किनकी गत नोभेम्बरमा मात्र कंग्रेसलाई पेश गरिएको राष्ट्रिय सुरक्षा नीति आयोगको रिपोर्टमा लडाईँ भए अमेरिकी सेनाले अत्यन्तै ठूलो क्षति बेहोर्नुपर्ने र चीन वा रुससँगको युद्धमा पनि ठूलो संघर्ष गर्नुपर्ने भनि उल्लेख गरिएको थियो । यसको ६ महिनापछि अमेरिकी रक्षा विभागको वार्षिक रिपोर्टमा चिनियाँ सेना सम्बन्धी बेइजिङ अहिले विश्व स्तरीय सेना विकास गर्नमा केन्द्रित रहेको र बिस्तारै इन्डो–प्यासिफिक क्षेत्रमा अद्वितिय शक्ति बन्ने तयारीमा रहेको जानकारी दिइएको छ । पेन्टागनको रिपोर्ट अनुसार मध्यम र छोटो दुरीका दुई हजार ब्यालेस्टिक मिसाइलले समुद्री लक्ष्यमा सजिलै प्रहार गर्न सक्छन् ।
यसबीच अष्ट्रेलियाको यस रिपोर्टले भने चीनको सैन्य प्रगतिसँग अमेरिकाले आफ्नो स्तर कायम राख्न सक्ने क्षमतामाथि प्रश्न उठाएको छ र वासिङटनलाई यो विषयमा सतर्क रहन आग्रह गरेको छ । यसरी क्षेत्रीय सन्तुलन राख्न अमेरिकाले जापान लगायत मित्रराष्ट्रसँग सहकार्य गर्नैपने देखिएको छ । र पछिल्लो समय वास्तवमै अमेरिकाले आफ्ना सहयोगीहरुसँग सहकार्य बढाइरहेको छ । सीएनएनबाट