नागरिकता कानूनको विरोधमा भारतमा हिंसात्मक प्रदर्शन

जनपत्र
५ पुष २०७६, शनिबार ०६:४२

नागरिकता सम्बन्धी नयाँ कानूनको विरोधमा भारतमा भइरहेको प्रदर्शनले हिंसात्मक रुप लिन थालेको छ । उत्तर प्रदेशमा भएको हिंसाका क्रममा शुक्रबार पाँच जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । प्रदर्शनकारीले मध्यगञ्जमा रहेका एक प्रहरी कार्यालयबाहिर रोकेर राखिएका गाडी जलाइदिएका छन् । त्यस क्रममा २० जनाभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।

शुक्रबार नयाँदिल्लीको लाल किल्लामा भएको प्रदर्शनबाट १ हजार २ सयभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनका क्रममा केही सामाजिक अभियन्ताहरु पनि नियन्त्रणमा लिइएको अधिकारकर्मीहरुले जानकारी दिए । दिल्लीमा भएको विरोध प्रदर्शन आक्रामक हुँदै गएपछि केही क्षेत्रमा दिउँसो करिब चार घन्टाजति इन्टनेट सेवा समेत नै बन्द गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतमा भइरहेको विरोध प्रदर्शन शुक्रबारसम्म हेर्दा कम्तीमा पनि १० वटा प्रदेशमा जारी छ । तर अधिकारीहरुले उत्तर प्रदेश, नयाँ दिल्लीका केही भागहरु, कर्नाटका, गुजरात, तेलङ्गना र मध्यप्रदेशका अधिकांश नगरहरुमा विरोध प्रदर्शन नै गर्न नपाउने गरी निषेधाज्ञा नै जारी गरेको छ । भारतका विभिन्न राज्यमा भएको प्रदर्शनमा प्रहरीले व्यापक धरपकड गरेको छ ।

त्यसैगरी बेङ्गलुरुमा भने सरकारले कफ्र्यू नै जारी गरेको छ । यहाँ प्रदर्शनकारीहरुले हिंसा मच्चाउन लागेको भन्दै प्रहरीले निषेधाज्ञा जारी गरेको हो । त्यस स्थानमा बिहीबार प्रहरीको गोली लागेर प्रदर्शनकारीको निधन भएको थियो भने केही घाइते भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*