सिताके च्याउको खेतीमा रमाउँदै टेकबहादुर

जनपत्र
२ पुष २०७६, बुधबार ०६:४८

अँध्यारो टहरो, एकमाथि अर्को खप्ट्याएर लहरै राखिएका उत्तीसका एकनासका मुढाहरू । फल्न शुरू गरेका च्याउको रेखदेखमा खटिएका छन् एक अधबैंशे किसान । यो दृश्य सल्यानको कपुरकोट गाउँपालिका–४ गाडापानीमा गरिएको सिताके च्याउखेतीको हो । उत्पादन विक्रीबाट गतिलो आम्दानी गर्ने आशाले खेतीमा रमाएका छन् स्थानीय टेकबहादुर बुढा ।

आफ्नै गाउँ–ठाउँमा सम्भावना भएका काम गरेर पैसा कमाउने सोचले आफू सिताके च्याउको खेतीमा लागिपरेको टेकबहादुरले सुनाए । २ वर्षअघि उनले यो खेती शुरू गरेका थिए । यो प्रजातिको च्याउको खेतीबाट उनले उत्पादन तथा आम्दानी बढाउँदै लगेका छन् ।

‘२०७४ फागुनमा उत्तीसको काठ काटेर १ हजार मुढा तयार पारेको थिएँ,’ उनले भने, ‘त्यसैबाट खेती शुरू गरेको हुँ ।’ पहिलो वर्ष च्याउ नउम्रिएपछि निराश बनेका उनी यस वर्षदेखि च्याउ उत्पादन हुन थालेपछि हर्षित छन् । शुरूको वर्ष च्याउ नउम्रिएपछि करीब २०० मुढा हटाइएको उनले बताए । ३ लाख रुपैयाँ लगानीबाट शुरू गरिएको सिताके च्याउखेती अहिले फस्टाउँदै गएको टेकबहादुरले बताए । जिल्लामा यो प्रजातिको च्याउखेती नौलो भएको र अन्यत्र नपाइने भएकाले आफ्नो उत्पादन गाउँघर तथा स्थानीय बजारमै खपत हुने गरेको उनको भनाइ छ । ‘प्रतिकिलो ४०० रुपैयाँमा विक्री हुने गरेको छ,’ उनले भने ।

उक्त च्याउखेती गरिएको उत्तीसको मुढालाई समय–समयमा पानीले भिजाउनुपर्ने उनले बताए । ‘एकपटक लगाएपछि ५ देखि ७ वर्षसम्म उत्पादन दिन्छ भन्ने सुनेको छु,’ उनले भने । पहिलो चरणमा झन्झटिलो लागे पनि दीर्घकालीन रूपमा फाइदा दिने भएकाले खेतीमा लगाव बढेको उनको भनाइ छ । अग्र्यानिक उत्पादन गर्दै आएका उनले यसका लागि बजारको समस्या नभएको बताए । आपूmले यो खेतीसम्बन्धी पर्याप्त ज्ञान, शीप तथा तालिम भने नपाएको उनको भनाइ ।

सिताके च्याउको खेती विशेषगरी ओखर प्रजातिका काठमा गरिएको पाइन्छ । तर नेपालमा गरिएको अनुसन्धान अनुसार उत्तीस, सौर, लाकुरी, धालेकटुस लगायतका काठमा पनि यसको खेती राम्रो हुने जानकारहरू बताउँछन् ।

उपयुक्त तरीकाले काठ काट्ने, बीउ रोप्ने र नियमित रेखदेख गर्ने गरेमा सिताके च्याउबाट राम्रो आम्दानी लिन सकिने टेकबहादुरको अनुभव छ । ‘गाउँघरमा पाइने उत्तीसका काठको सदुपयोग गरी यसको व्यावसायिक खेती गर्न सके पैसा कमाउनकै लागि युवाहरू खाडी मुलुक जानुपर्दैन,’ उनले भने, ‘यसका लागि स्थानीय तह र सम्बद्ध निकायले पनि सहयोग गर्नुपर्छ ।’ सिताके च्याउको सेवन मोटोपना घटाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन र मुटुरोगीको स्वास्थ्यका लागि पनि लाभदायी हुने बताइन्छ ।
अभियानडेलीबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*