संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश
मनहरी–संघीय समाजवादी पार्टीका जिल्ला सदस्य इन्द्र थिङसहित १३७ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
मकवानपुरको मनहरीमा आयोजित नेपाल कम्युनिष्ट पार्टीको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा संघीय समाजवादी, नेपाली काँग्रेस र राप्रपा परित्याग गरी उनीहरु नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेकपा एमालेका बरिष्ठ नेता एबम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले फुलमाला र अबिरटिका लगाएर स्वागत गर्नु भएको थियो ।

प्रवेश गर्नेहरुमा केही स्वतन्त्र युवाहरुसहित समाजवादी पार्टीका जिल्ला सदस्य थिङ, नेपाली काँग्रेस मनहरी गाउँ इकाइ समिति सदस्य रामकृष्ण प्रजा, राप्रपाका ६ नं वडाध्यक्ष राजु प्रजा लगायतका रहेका छन् । नेपाली काँग्रेसका क्रियाशील महिलाहरुले पनि पार्टी प्रवेश गरेको नेपाल कम्युनिष्ट पार्टी मनहरी गाउँ कमिटीका सचिव हेमलाल उप्रेतीले जानकारी दिनुभयो ।
पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य केदार न्यौपाने, बिरोध खतिवडा, कुमारी मोक्तान, रामेश्वर राना, जिल्ला अध्यक्ष मुनु सिग्देल, प्रदेश कमिटी सदस्यहरु ओमबहादुर ग्लान, एकराज उप्रेती, संविधासभा सदस्य राजाराम स्याङ्तान, नेकपा मकवानपुरका कार्यालय सदस्य एकालाल श्रेष्ठ लगायत नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रम मनहरी गाउँ कमिटी अध्यक्ष रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको हो भने मनहरी गाउँ कमिटी सचिवालय सदस्य मनिला बिष्टले स्वागत गर्नु भएको थियो ।






