पवित्रा वादी जसले देहव्यापार नगर्न मादल रोजिन्

तिहार आएयता मात्रै पवित्रा वादी नेपालीले ७० वटा मादल बनाइन्। ती मादल ग्राहकले उनकै घरमा आएर किने। अघिपछि पनि मादल चाहिनेहरू उनको घरमै पुग्छन् ।
शनिबार हामी पुग्दा पनि ४२ वर्षीया पवित्रा वादी ग्राहकले घेरिएकी थिइन्। उनलाई कुरा गर्ने फुर्सदसमेत थिएन। मादल बनाउनै भ्याइनभ्याइ थियो।
उनी घरि मादल बजाएर आवाज परीक्षण गर्थिन् त घरि मादल भनेजसरी बजोस् भनेर हतौडाले यताउता ठाकठाक ठुकठुक पार्थिन्।
योसँगै मादल किन्न आएका ग्राहकलाई आफैं मादल बजाएर सुनाउन पनि भ्याइरहेकी थिइन्।
मादल बजाउने गज्जबको कला छ पवित्रासँग। उनले छोएपछि मादलको ताल पनि बेग्लै। पवित्राले बनाएका मादल दुई हजारदेखि आठ हजारसम्म बिक्री हुन्छ।
यो पवित्राको पुस्तैनी पेसा हो।
१५ वर्षको उमेरदेखि नै उनले बाबु लालसिंह वादीसँग मादल बनाउन थालेकी हुन्। उनको समुदायका आमा दिदीबहिनी धेरैजसो देहव्यापारमा संलग्न थिए। उनीहरूझैं पवित्रालाई यो पेसा गर्नु थिएन।
‘अरु दिदीबहिनी देहव्यापारमा लागे, तर मलाई त्यो मन परेन। मैले कहिलै देहव्यापार गरिनँ। बरु म ‘बा’ सँगै मादल बनाउन लागे,’ विगत सम्झँदै पवित्राले भनिन्।
पवित्रालाई उनकै दिदीहरू र अभिभावकबाट समेत देहव्यापारमा लाग्न कम्ता दबाब आएको थिएन। दबाब छल्न उनी घरैसमेत छोडेर भागिन्। भागेर साथीहरूको शरणमा पुगेको सम्झना उनलाई ताजै छ।
उनमा यत्रो हिम्मत उनको ४ कक्षासम्म गरेको पढाइले ल्याइदिएको थियो।
कक्षा ४ सम्म मात्रै औपचारिक शिक्षा पढेकी भए पनि अन्य जातका साथीहरूले बारम्बार उनलाई देहव्यापार नगर्न भनिरहन्थे। साथीहरूका यी कुरा उनका मनमा गढे। उनले समाज र साथीहरूले देहव्यापार गर्ने आफ्ना दिदीहरूलाई के भन्थे र कस्तो दृष्टिकोण राख्थे भन्ने कुरा सानैमा राम्रोसँग बुझ्न पाएकी थिइन्।
उनले देहव्यापार नगर्ने बरु अरू नै काम गर्ने अठोट राखिन्। त्यही अठोटका कारण वादीहरूको मादल बनाउने सीप आफ्ना बाबुबाट सिकिन्।