नेवार समुदायमा जन्मदिनः संस्कार र संस्कृतिको संरक्षण

चन्द्रकुमारी व्यञ्जनकार
२७ आश्विन २०७६, सोमबार ०६:१६

नेवार समुदायमा जन्मदिन जन्मेको २ बर्ष लागेको दिन पहिलो जन्म दिन मनाउँछन । जन्मदिन मनाउने दिनमा घर सरसफाई, नुहाइ धुवाइ गरेर जन्मदिन मनाउने गरिएको छ । बच्चालाई नयाँ लुगा किनेर गणेश, कुमार, भैरव, महालक्ष्मी, कुलदेवता आदिको पुजा गरिन्छ ।

सवै देवी देवताको प्रसाद साथै घरमा सुकुण्दा बालेर गणेशलाई साक्षी राखेर सवभन्दा जेष्ठ महिला वा आमाले बच्चालाई पुजा गर्दै बच्चालाई पनि पुजा गर्न सिकाएर अण्डा, माछा सगुन खुवाउने र दहीको सगुन कन्चतमा लगाई दिने र योमरी आकारको चामलको पिठोको रोतीभित्र अक्षेता (चामल) ५ वटा भित्र राखेर पकाएको रोतीको माला लगाइदिने चलन छ । त्यहि मालामा भएको रोटी गनेर जो कोही नचिनेको मानिसले पनि त्यसरी माला लगाएको बच्चालाई देख्यो भने त्यो बच्चाको उमेर भन्न सक्थ्यो ।

पहिलो जन्मदिन मनाएका बच्चालाई मामाघरवाट सगुनमा लुगा दिनुपर्छ । यसरी जन्म दिनको दिनमा आफ्नो घरको पुजाकोठामा दियोमा बति वाल्ने गर्छन । तेल थपी थपी रातभरि पनि वाल्ने गर्थे, अनि कुनै मन्दिर (घर नजिकको वा कुलदेवताकोमा) चारैतिर बति बालेर जिवनमा राम्रो होस, बतिको उज्यालो जस्तै जिवनमा पनि शान्ति, खुशियाली छाओस, राम्ररी पढेर ज्ञानी मानिस बन्न सकोस भनेर आर्शिवाद लिन सकोस भनेर कामना गर्ने गर्छन । तर, अहिले जन्म दिनको नाममा मैनवत्ती बालेर फू गरेर निभाईन्छ ।

यसरी जन्म दिनको दिनमा योमरी आकारको रोटीको माला १२ बर्ष सम्म वा छोराको भए बर्तबन्ध नगरेसम्म र छोरीको गुफा नराखेसम्म लगाएर मनाउने चलन छ,। त्यहि रोटी एक छिन पछि बालसखाहरुलाई बाँडेर पनि खुवाउने गथ्र्यो ।

सबै देवीदेवताको पुजा सकिएपछि आफ्नो घर वाहिर आगनमा, चोकमा कालो तील, दही र चिउरा मिसाएको, समयबजी साकाहारीले माछा, मासु, अण्डा नराखिकन बनाएको हुन्छ । मांसाहारीले ( आलु, भटमास, बोडी, छोयला, टुक्रा टुक्रा पारेको अदुवा समेतको चिउरा आदि) र समय अनुसारको फलफुल अनि अहिले आएर एक एक वा पाँच रुपैया समेत आफ्नो घरवाहिर वा चोकमा दान दिने चलन छ ।

अहिले दहि चिउरा भन्दा समय बजी, समय अनुसारको फलफुल बाड्ने चलन छ । त्यसै गरी जन्म दिनको दिनमा आफ्नो टोलमा भजन किर्तन गर्ने महिना छ । बिहानको समय हो भने चिया, बिस्कुट, मालपुवा आदि बेलुकी भए समयबजी खुवाउने गर्थे र गर्छन, कसै कसैले वालगृह, जेष्ठ नागरिकहरुको दिवा सेवा केन्द्र, विहारमा भोजन गराएर पनि जन्म दिन मनाउने गर्छन ।

यसरी जन्म दिनको संस्कार रहेकोमा अहिले आएर पाश्चात्य संस्कृतिको प्रभाव परेको जस्तै बच्चाको एक बर्षे जन्म दिन देखि जन्म दिनको केक काटेर विहान पुजाआजा गरेर मनाउने सट्टा बेलुकी रमाईलो गर्ने गराउने चलन आएको छ । यसले गर्दा सानैमा चक्कु समात्न र चलाउन सिकाएको जस्तै मानिन्छ ।

चाहे बच्चाबच्ची होस वा बुढाबुढीको जन्म दिन, जन्म दिनको केक काट्नै पर्ने जमाना आएको छ । हुन त जन्मदिनको केक स्वास्थकर्मीहरुको भनाई अनुसार खान योग्य छैन, तर हामी त्यसैमा रमाईरहेका छौं ।

सगुन दिने वेलामा केटा, छोरा मान्छेको हो भने अनिवार्य रुपमा नेपाली टोपी लगाउनु पर्नेमा अहिले आएर बच्चा बच्चीले त जन्म दिनको टोपी भनेर कागजले बनाएको टोपी लगाउँछन् तर ठुलै मानिसले संधै नेपाली टोपी लगाउने गरेकाले पनि आफ्नो टोपी खोलेर कागजको टोपीमा बच्चाबच्ची रमाएको जस्तै रमाउने गर्छन ।

यसरी जन्म दिन मनाएर रमाउनेले गर्दा आफ्नो परम्परा र संस्कृति बिस्थापित हुन लागेको छ । संस्कार र संस्कृतिले सभ्यता झल्काउँछ, आफ्नो परम्परा र मौलिकतालाई नभुलौं । जनपत्रका लेखक प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयका आठौ तहका महिला बिकास अधिकृत हुनुहुन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*