हेटौंडामा प्रभातफेरीसहित पत्रकार महासंघको ७१औँ स्थापना दिवस मनाइयो

जनपत्र
१६ चैत्र २०८२, सोमबार ०९:३२

हेटौंडा । नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले आफ्नो ७१औँ स्थापना दिवस आज हेटौंडामा विविध कार्यक्रमका साथ मनाएको छ।

स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र नेपाल पत्रकार महासंघ मकवानपुरको संयुक्त आयोजनामा हेटौंडामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा जिल्लास्थित पत्रकार, सञ्चारकर्मी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

हेटौंडाको स्कुलरोडबाट निकालीएको प्रभातफेरीको र्यालीले बुद्धचोक, मकवानपुर उद्योग बाणिज्यसंघ भएर सिमाचारकमा आएर कोणसभामा परिणत भएको थियो ।
हेटौंडामा आयोजित प्रभातफेरीमार्फत पत्रकारहरूले पेशागत एकता, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताको सन्देश प्रवाह गरेका थिए। स्थापना दिवसलाई देशभर विभिन्न कार्यक्रमका साथ मनाइरहँदा हेटौंडामा पनि उत्साहका साथ दिवस मनाइएको छ।

स्थापना दिवसकै सन्दर्भमा पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगरले शुभकामना सन्देश जारी गर्दै जिम्मेवार पत्रकारिताको दायित्व स्मरण गराए । उनले जनताको सही सूचना पाउने अधिकार सुनिश्चित गर्दै समाजले अपेक्षा गरेको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न सबै पत्रकारलाई अपिल गरे।

उनले सात दशकभन्दा लामो इतिहास बोकेको महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको हित संरक्षण र व्यावसायिक पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरे ।

कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले मानव अधिकारको रक्षा, नागरिकको सही सूचना पाउने अधिकारको सुनिश्चितता तथा सार्वजनिक सरोकारका विषयमा महासंघले निरन्तर भूमिका खेल्दै आएको पनि स्पष्ट पारे । लोकतन्त्रसँग पत्रकारिता अभिन्न रूपमा जोडिएको उल्लेख गर्दै उनले कतिपय अवस्थामा सार्वजनिक सरोकारका विषयमा स्पष्ट अभिमत दिनु पत्रकारहरूको जिम्मेवारी हुने धारणा राखे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, बर्तमान उपाध्यक्ष हरि हुमागाई, महासंघ मकवानपुर साखाका पूर्व अध्यक्ष राममणि दाहाल लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*