हेटौंडामा विद्यार्थी र उद्योग प्रतिनिधिबीच अन्तरक्रिया
हेटौंडा । हेटौंडा उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाअन्तर्गतको वृत्ति मार्गनिर्देशन सेवा इकाइको आयोजना तथा ENSSURE सँगको सहकार्यमा अटोमोबाइल इन्जिनियरिङ विषय अध्ययनरत औद्योगिक प्रशिक्षार्थीहरूका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूले अध्ययन गरिरहेको क्षेत्रमा भविष्यमा रोजगारीको अवस्था, सम्भावना, अवसर तथा चुनौतीबारे प्रत्यक्ष रूपमा सम्बन्धित क्षेत्रका विज्ञ र उद्योग प्रतिनिधिबाट जानकारी प्राप्त गराउने रहेको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख हरिचन्द्र सापकोटाले जानकारी दिए।
सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भारत गौतमको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन महाशाखाका रमेश बिडारीले गरेका थिए।
अन्तरक्रियामा अग्नि ग्रुपका अपरेशन इन्चार्ज सुरज ठकुरी हमाल र हिमालयन मोटर्सका म्यानेजिङ डाइरेक्टर सम्झौता सापकोटाले सहजीकरण गरेका थिए। कार्यक्रममा १५ जना अटोमोबाइल इन्जिनियरिङका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा अटोमोबाइल क्षेत्रमा उपलब्ध अवसर, चुनौती, नेपाल तथा विदेशमा रोजगारीको अवस्था, कामदारको माग तथा विद्यार्थीहरूले यस क्षेत्रमा प्रवेश गर्दा गर्नुपर्ने तयारीबारे विस्तृत जानकारी दिइएको थियो। साथै रोजगारीका लागि आवश्यक सीप, दक्षता र व्यवहारबारे पनि सहजीकरण गरिएको थियो।
सहजकर्ताहरूले शैक्षिक योग्यता र सीप मात्र पर्याप्त नभई सकारात्मक सोच, अनुशासन, मेहनत, निरन्तरता, लगनशीलता र धैर्यजस्ता गुणहरू पनि उत्तिकै आवश्यक पर्नेमा जोड दिएका थिए। उनीहरूले सिक्ने इच्छा र प्रतिबद्धता भएका विद्यार्थीलाई उद्योग क्षेत्रमा अवसरको कमी नहुने बताएका थिए।
कार्यक्रममा खुला छलफल तथा प्रश्नोत्तर सत्र समेत सञ्चालन गरिएको थियो। सो क्रममा विद्यार्थीहरूले नेपालमा अटोमोबाइल क्षेत्रमा सम्भावना, रोजगारीको अवस्था तथा उद्योगहरूले कर्मचारी छनोट गर्दा ध्यान दिने पक्षबारे जिज्ञासा राखेका थिए।
उद्योग प्रतिनिधिहरूले हाल नेपालमा अटोमोबाइल क्षेत्रमा धेरै कामदार भारतबाट आउने गरेको र नेपाली युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भइरहेको बताए। तर, स्वदेशमै सीप सिकेर काम गर्ने हो भने विदेशिनुपर्ने अवस्था घट्न सक्ने उनीहरूको भनाइ थियो।
उनीहरूले नेपालमा पछिल्लो समय सवारी साधन एसेम्बल गर्ने उद्योगहरू विस्तार हुँदै गएकाले आगामी दिनमा अटोमोबाइल क्षेत्रमा रोजगारीका अवसर अझ बढ्ने सम्भावना रहेको उल्लेख गरे। त्यसैले विद्यार्थीहरूलाई राम्रोसँग सीप सिकेर स्वदेशमै अवसर खोज्न आग्रह गरिएको थियो।
वृत्ति मार्गनिर्देशन सेवा इकाइले विद्यार्थी तथा युवाहरूलाई करिअर छनोटमा सहयोग गर्ने, सीप र रोजगारीसँग जोड्ने तथा क्षमता अभिवृद्धिका लागि आवश्यक परामर्श प्रदान गर्दै आएको इकाइका सम्पर्क व्यक्ति राजमणि शर्माले जानकारी दिए।







