हेटौंडाका होटल तथा रेस्टुरेन्टमा ग्यासको अभाव
मकवानपुर–हेटौंडाका होटल तथा रेस्टुरेन्टमा यतिबेला एलपी ग्यास अभावले व्यवसाय नै प्रभावित हुन थालेको छ । बजारमा ग्यासको आपूर्ति असहज बनेपछि दैनिक सञ्चालनमै समस्या देखिन थालेको व्यवसायीहरूले बताएका छन् ।
पश्चिम एसियामा बढ्दो तनावका कारण ग्यास आपूर्तिमा अवरोध हुन सक्ने आशङ्काले बजारमा एक्कासि माग बढेपछि हेटौंडामा समेत ग्यास अभाव देखिएको हो । पछिल्लो एक महिनादेखि व्यवसायीहरूले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन् ।
हेटौंडाका विभिन्न होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूका अनुसार ग्यास अभावका कारण ग्राहकलाई सेवा दिन कठिन भएको छ । “ग्यास सकिएको एक सातासम्म पनि नयाँ सिलिन्डर पाउन सकेका छैनौं,” एक व्यवसायीले भने।”
गयसको अभाब भएको र आधा सिलिण्डर मात्र ग्यास पाउने हुँदा थप समस्या परेको हेटौंडा–४ का रेष्टुरेन्ट सञ्चालक श्याम थापा बताउँछन् ।
नेपाल आयल निगमका अनुसार ग्यासको आपूर्ति नियमित भए पनि बजारमा अत्यधिक माग बढ्दा अभाव देखिएको हो । ग्यास अभाव हुन सक्ने आशङ्कामा उपभोक्ताले आवश्यकताभन्दा बढी सञ्चित गर्न थालेपछि समस्या झन् जटिल बनेको निगमको भनाइ छ ।
होटल व्यवसायीहरू भने सरकारले प्राथमिकताका आधारमा ग्यास वितरण व्यवस्था मिलाउनुपर्ने बताउँछन् । होटल तथा रेस्टुरेन्टमा दैनिक रूपमा ग्यास आवश्यक पर्ने भएकाले यस्ता व्यवसायलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको माग छ ।
ग्यास अभावलाई व्यवस्थापन गर्न निगमले आधा तौलका सिलिन्डर वितरण सुरु गरेको छ । यसले केही हदसम्म राहत दिएको भए पनि व्यवसायीहरूले पूर्ण रूपमा समस्या समाधान नभएको बताएका छन् । हेटौंडाका होटल तथा रेस्टुरेन्ट व्यवसायीहरू भने ग्यास अभावका कारण दैनिक चुनौती भोगिरहेका छन् ।







