हेटौंडाका मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता, मकवानपुरमा शान्तिपूर्ण रूपमा मतदान जारी
मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मकवानपुर जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ । बिहानैदेखि मतदान केन्द्रहरूमा मतदाताहरूको उल्लेखनीय उपस्थितिका साथ मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ ।
निर्वाचन आयोगले तोकेको समयअनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा युवादेखि ज्येष्ठ नागरिकसम्मको सहभागिता देखिएको छ । हेटौंडा उपमहानगरपालिका सहित मकवानपुरका दश वटै स्थानीय तहका मतदान केन्द्रमा बिहानै पुगेर पालो कुर्दै मतदान गरिरहेका छन् । केही केन्द्रहरूमा मतदाताको लामो लाइन समेत देखिएको छ, जसले निर्वाचनप्रति जनताको चासो र उत्साह झल्काएको छ ।

मकवानपुर जिल्लाका दुबै निर्वाचन क्षेत्र अन्तर्गतका सबै मतदान केन्द्रमा सुरक्षाको कडा व्यवस्था गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीको संयुक्त टोलीले मतदान केन्द्र तथा आसपासका क्षेत्रमा सुरक्षा व्यवस्थापन गर्दै आएका छन् । यसका साथै मतदान केन्द्रहरूमा आवश्यक कर्मचारी र मतदान सामग्री व्यवस्थित रूपमा राखेर मतदान प्रक्रिया सहज बनाइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले सम्म कुनै अप्रिय घटना बिना सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदाताहरूले निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।
यसैबीच, मतदानलाई व्यवस्थित बनाउन मतदान अधिकृत र कर्मचारीहरू सक्रिय रूपमा खटिएका छन् । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा गर्भवती महिलालाई प्राथमिकता दिँदै मतदान गराउने व्यवस्था गरिएको छ ।








