मकवानपुरमा निर्वाचनको तयारी पूरा, तारजाली र सीसीटिभीजडित मतगणना स्थल तयार
हेटौंडा । भोली अर्थात फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनको मकवानपुर जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । मकवानपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपेटिकासहित सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् ।
‘केन्द्रको क्षेत्र घोषणाको सूचना टाँस गरी सबै मतदान केन्द्रमा सर्वदलीय बैठक समेत भइसकेको छ हेटौंडाको भुटनदेवि माध्यमिक बिद्यालयका मतदान अधिकृत श्रीराम पुडासैनीले बताए । मकवानपुर जिल्लाको दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थल समेत तयार भइसकेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ भुटनदेवि माध्यमिक बिद्यालय भवनमा मतगणनाका लागि चार वटा कोठा तयार गरिएको छ ।
उनका अनुसार मतगणना स्थललाई तारजालीले सुरक्षित गरी सीसीटिभी जडान गरिएको छ । दलका प्रतिनिधिलाई तारजालीबाहिर बस्ने व्यवस्था मिलाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए । मतगणना स्थलमा मोबाइल फोन प्रतिबन्ध गरिएको छ । मतगणनाको समयमा हुन सक्ने अराजक गतिविधि नियन्त्रणका लागि व्यवस्थित पारिएको उनले जानकारी दिए । दुवै निर्वाचन क्षेत्रका मतगणना स्थलमा एकै पटक चार ठाउँमा मतगणना गर्न मिल्ने बताइएको छ ।
मतदानपश्चात मतपेटिका ढुवानीका लागि सवारी साधनको समेत व्यवस्था भइसकेको छ । मकवानपुरका बिकट गाउँबाट मतपेटिकाहरु ल्याइपुग्नका लागि मतदान सकिएको चार घण्टा सम्म पनि लाग्ने छ ।







