मकवानपुरका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिदै
हेटौंडा । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरू आज अपराह्नसम्म जिल्लाभरका सबै मतदान केन्द्रमा पुग्ने भएका छन्। निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले सोमबार अपराह्नसम्म मतदानमा खटिने सम्पूर्ण जनशक्तिलाई आ–आफ्नो केन्द्रमा अनिवार्य रूपमा पुग्न निर्देशन दिएको छ।
मकवानपुर जिल्लाका दुर्गम तथा विकट क्षेत्रमा रहेका मतदान केन्द्रहरूमा केही दिनअघिदेखि नै सुरक्षाकर्मी सहितको टोली पुगिसकेको छ। यातायात सुविधा पुगेका स्थानहरूमा भने सोमबार अपराह्नसम्म केन्द्रमा पुगेर आवश्यक तयारी पूरा गर्न आयोगले निर्देशन दिएको हो।
निर्वाचनमा खटिएका कर्मचारीहरूले बेलुकीसम्म मतदान केन्द्रको चारकिल्ला निर्धारण गरी केन्द्र रहेको हाता स्पष्ट देखिनेगरी सूचना टाँस्नुपर्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए । यसबाट मतदान हुने क्षेत्रको सीमाना सर्वसाधारणले सजिलै बुझ्न सक्नेछन्।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट सुरक्षाकर्मीको उपस्थितिमा सम्बन्धित मतदान अधिकृतहरूले मतपत्र लगायतका निर्वाचन सामग्री बुझ्ने व्यवस्था मिलाइएको छ। मतदान सम्पन्न नहुन्जेलसम्म कर्मचारी र सुरक्षाकर्मीहरूको टोली सँगसँगै रहनेछ।
मतदान अधिकृतको जिम्मामा रहने मतपत्र लगायतका सामग्रीको सुरक्षा नेपाल प्रहरीले गर्नेछ। सुरक्षा निकायलाई निर्वाचन सामग्री र कर्मचारीको २४ सै घण्टा निगरानी गर्न तथा कुनै पनि अवस्थामा साथ नछाड्न निर्देशन दिइएको छ।
निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन जिल्ला भरि कर्मचारी तथा सुरक्षाकर्मीको पूर्ण परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

४० वटा वडा रहेको मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ६२ वटा मतदान स्थल र १७८ वटा मतदान केन्द्र रहेका छन् । ६२ वटा वडा रहेको क्षेत्र नम्बर २ मा १०५ वटा मतदान स्थल र १९६ वटा मतदान केन्द्र छन् । यी मतदान केन्द्र बाहेक जिल्लाको पूर्व सदरमुकामस्थित भीमफेदी कारागारमा र कर्मचारीका लागि हेटौँडा अस्थायी मतदान केन्द्र रहने भएको छ ।
मकवानपुरमा कुल मतदाता तीन लाख १५ हजार ३३४ कायम भएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष ७९ हजार ६२१, महिला ७८ हजार ८१० र अन्य चार गरी एक लाख ५८ हजार ४३५ र क्षेत्र नम्बर २ मा ८२ हजार ३३२ पुरुष, ७४ हजार ५६६ महिला र एक अन्य गरी एक लाख ५६ हजार ८९९ मतदाता छन् ।







