मकवानपुर–२ मा जित आफ्नो हुने महेश बर्तौलाको दाबी
हेटौंडा । देश अहिले निर्वाचनमय बनेको छ । राजनीतिक दलहरु आ–आफ्ना उमेदवारलाई जिताउन घरदैलो तथा कोणसभालाई तीव्रता दिएका छन । मतदाता फकाउन उमेदवारहरु आफ्ना प्रतिबद्धता, प्रतिज्ञापत्र, वाचापत्रसहित हरेक मतदाताको घर पुगिरहेका छन । यसैक्रममा मकवानपुरमा पनि निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ ।
मकवानपुरमा क्षेत्र नम्वर –२ मा पनि उमेदवार मतदाता फकाउन व्यस्त छन् । उनीहरुले आफूले जित्ने दाबी पनि गर्दै आएका छन । मकवानपुर क्षेत्र नम्वर–२ का एमालेका उमेदवार महेश बर्तौलाले पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । एमाले उम्मेदवार कैलाश गाउँपालिकाका बर्तौला आफ्नो सक्रियता, संगठन र विगतमा गरेको विकासका कामबाट उत्साहित देखिन्छन् ।
उनी आफू मकवानपुरको विकास र राजनीतिमा योगदान पु¥याएकोले आफूले चुनाव जित्ने दाबी गरेका छन् । ‘म हिजो ३२ महिना संसदीय भुमिका मार्फत तपाईहरुले दिएको जिम्मेवारी पुरा गर्ने सन्दर्भमा यस क्षेत्रका मतदातारुको नाकमा हिलो लाग्नेगरी तपाईहरुलाई अपमानित गर्नेगरी मैले कुनै गलत क्रियाकलाप गरेको छैन ’, बर्तौलो भने ।
बर्तौलाले आफु निर्वाचित भएर गइसकेपछि एउटा सांसदले गर्नुपर्ने कर्तव्य पुरा गरेको दाबी गरे । संसदमा कानुन निर्माण गर्न जाने बताउँदै उनले आफुले महत्वपुर्ण कानुन निर्माणमा भुमिका खेलेको बताए ।

‘२४ वटा कानुनमा यहाँका जनताका सुझाव र यहाँका जनताका धारणहरुलाई केन्द्रमा राखेर २४ वटा भन्दा धेरै कानुनहरुमा मैले प्रत्यक्ष सहभागी भएर काम गरेको छु ,’ उनले , ‘यो देशको १६ वर्षदेखि नटुंगेको शसस्त्र बिद्रोहको संक्रमणकालीन न्यायसँग जोडिएको कानुनलाई निष्कर्शमा पु¥याउन महत्वपुर्ण भुमिका खेलेर आएको छु ।’
०७९ मा बर्तौलाले एकीकृत समाजवादीका विरोध खतिवडालाई ४ हजार ५ सय २० मतान्तरले पराजित गरेका थिए । उक्त क्षेत्रमा कांग्रेस, माओवादी केन्द्र र समाजवादीले गठबन्धन गरेर खतिवडालाई उम्मेदवार बनाएका थिए । बर्तौलाले ३४ हजार ९ सय १६ मत ल्याएका थिए । खतिवडाले ३० हजार ३ सय ९६ भोट पाएका थिए । रास्वपाका भरत पराजुलीले १२ हजार ३९ मत ल्याएका थिए । राप्रपाका राजन मैनालीले २ हजार १ सय ९४ मत प्राप्त गरेका थिए ।
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौलाले स्वाधीनता र संविधानको रक्षा गर्न सूर्य चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेका छन् । शनिबार (आज) बिहान हेटौँडा उपमहानगरपालिका–१ अन्तर्गत चौकीटोल हुँदै चाइना क्वार्टरका विभिन्न बस्तीमा सम्पन्न घरदैलो कार्यक्रमको समापन गर्दै बतौलाले स्वाधीनता र संविधान रक्षाका लागि एमालेको सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका हुन् । कार्यक्रममा उपस्थित नेता, कार्यकर्ता, युवा र समर्थकहरूलाई धन्यवाद व्यक्त गर्दै बर्तौलाले एमाले केवल सरकार बनाउने वा पद हासिल गर्ने उद्देश्यका लागि नभई मुलुकको जटिल अवस्थाबाट निकास दिन निर्वाचनमा होमिएको स्पष्ट पारे ।
निर्वाचन सामान्य प्रतिस्पर्धा नभएर देशको भविष्य र राष्ट्रिय हितसँग जोडिएको ऐतिहासिक अवसर रहेको बर्तौलाको भनाइ थियो । नेकपा एमाले राष्ट्रहितका सवालमा अडिग रहेको उल्लेख गर्दै उनले भने, ‘अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले नेपाललाई आफ्नो स्वार्थपूर्तिको माध्यम बनाउन खोजिरहेका छन्। यस अवस्थामा राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा हाम्रो पहिलो जिम्मेवारी हो। हामी राष्ट्रहितमा कुनै सम्झौता गर्दैनौँ ।’ प्रतिनिधिसभा देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था भएकाले मतदाताले आवेग, उत्तेजना वा आक्रोशमा नभई विवेक र तथ्यका आधारमा मतदान गर्नुपर्ने उनको आग्रह गर्दै बर्तौलाले सामाजिक सञ्जालले फैलाएको भ्रममको आधारमा मत दिन नहुने बताए ।
स्थानीय मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै बर्तौलाले सीमावर्ती बस्ती, भूमिहीन किसान, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई धनीपूर्जा उपलब्ध गराउने विषय संसदमा सशक्त रूपमा उठाउने बताए । उनले मतदातालाई सम्झाए, ‘हामी केवल मतका लागि होइन, सेवा र जिम्मेवारीका लागि यहाँ आएका हौँ ।’ प्रतिनिधित्व र समानुपातिकतर्फ दुई मतपत्र हुने स्मरण गराउँदै उनले सूर्यमा मतदान गरी राष्ट्र निर्माणको स्पष्ट दृष्टिकोण बोकेको उम्मेदवारलाई समर्थन गर्न अपील गरे । बर्तौलाले जनताको विश्वास र साथले आगामी निर्वाचनमा एमालेको विजय सुनिश्चित भएको दोहो¥याए । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका–१ नम्बर वडा कमिटीको आयोजनामा भएको घरदैलो कार्यक्रम उत्साहजनक सहभागिता सहित सम्पन्न भएको थियो ।







