मकवानपुरमा निर्वाचन लक्षित स्वास्थ्य तयारीका लागि विपद् व्यवस्थापन समितिका पाँच निर्णय
हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मकवानपुर जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण तयारीका निर्णयहरू गरेको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा आज बसेको समितिको बैठकले निर्वाचन अवधिमा सम्भावित विपद् तथा आकस्मिक अवस्थालाई मध्यनजर गर्दै जिल्लाभर स्वास्थ्य सेवा प्रणालीलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको हो।
बैठकले निर्वाचनको समयमा जिल्लाका सबै स्थानीय तहमा तत्काल परिचालन गर्न सकिने गरी साधन–स्रोतसहितको आपतकालीन स्वास्थ्य टोली तयारी अवस्थामा राख्न जनस्वास्थ्य कार्यालय मकवानपुरमार्फत सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ। साथै जिल्लाभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूलाई आवश्यक जनशक्ति तथा उपकरण तयारी अवस्थामा राख्न समेत निर्देशन दिइने भएको छ।
निर्वाचन अवधिलाई ध्यानमा राख्दै हेटौंडा अस्पताल लाई पनि आवश्यक साधन–स्रोतसहित तयारी अवस्थामा रहन र त्यसको विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउन निर्णय गरिएको छ।
यस्तै, जिल्लाभित्र सञ्चालनमा रहेका दमकल तथा एम्बुलेन्सहरूलाई जुनसुकै समयमा प्रयोग गर्न सकिने गरी पूर्ण रूपमा चालु अवस्थामा राख्न सम्बन्धित निकायहरूलाई लेखी पठाइने भएको छ।
निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै सो अवधिमा जिल्लाका सम्पूर्ण स्वास्थ्य जनशक्तिलाई बिदामा नबस्न र जिल्ला नछोड्न आवश्यक व्यवस्था मिलाउन जनस्वास्थ्य कार्यालय मकवानपुरमार्फत सबै स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूलाई निर्देशन पठाउने निर्णय समेत गरिएको छ।
त्यसैगरी, विपद् व्यवस्थापन समिति अन्तर्गतका सबै निकाय तथा पदाधिकारीहरूले निर्वाचन लक्षित सम्भावित विपद्जन्य घटनाको पूर्वतयारी, उद्धार तथा व्यवस्थापनका लागि आवश्यक प्रबन्ध मिलाउने पनि निर्णय भएको छ।
बैठकपछि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी ले निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन स्वास्थ्य क्षेत्रको तयारी अत्यन्त आवश्यक रहेको बताउँदै भने, “निर्वाचनको समयमा कुनै पनि आकस्मिक अवस्था सिर्जना भएमा तत्काल प्रतिक्रिया दिन सक्ने गरी स्वास्थ्य तथा उद्धार संयन्त्रलाई तयारी अवस्थामा राख्ने निर्णय गरिएको हो।”







