मकवानपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
गएराती मोटरसाइकल दुर्घटना भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
फापरबारीबाट हात्तिसुँडे तर्फ जाँदै गरेको प्रदेश ३–०२–००५ प १००८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको नालामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक मकवानपुर बकैया गाउँपालिका–८ बस्तिपुर निवासी करिब ४० वर्षीय प्रेमबहादुर गोले गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल पठाइएकोमा राति १० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय फापरबारीबाट करिब ३ किलोमिटर पश्चिममा पर्दछ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।







