मकवानपुरमा निर्वाचन तयारी तीव्र : ७५२ मतदान कर्मचारीलाई आजदेखि तालिम, ८ केन्द्रका मतपेटिका बाहिरी जिल्लाबाट ल्याइने

जनपत्र
१२ फाल्गुन २०८२, मंगलवार ०८:००

हेटौंडा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मकवानपुरमा मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि आजदेखि तालिम सुरु गरिदै छ । जिल्लाका ७५२ जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि हेटौंडास्थित सिद्धार्थ माध्यमिक विद्यालयमा तालिम सञ्चालन गरिएको हो ।

तीन दिनसम्म चल्ने उक्त तालिममा मतदानको दिनमा गर्नुपर्ने सम्पूर्ण कार्यसम्बन्धी जानकारी प्रदान गरिनेछ । मतदान प्रक्रियालाई प्रभावकारी, व्यवस्थित र त्रुटिरहित बनाउन प्रयोगात्मक अभ्याससहित तालिम सञ्चालन गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मतदान केन्द्रमा खटिने कर्मचारीलाई वास्तविक मतदान प्रक्रियाको अभ्यास गराई जिम्मेवारी निर्वाहमा सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

निर्वाचनको तयारी अन्तर्गत फागुन १८ गतेसम्म जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्नुपर्ने व्यवस्था गरिएको छ । सोही अनुसार व्यवस्थापन कार्य अगाडि बढाइएको प्रशासनले जनाएको छ ।

यसैबीच निर्वाचनको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी अधिकारीले ४ जना अनुगमन अधिकृतसमेत नियुक्त गर्नुभएको छ । उनीहरूले निर्वाचन तयारी, कर्मचारी व्यवस्थापन तथा मतदान केन्द्रको अवस्थाबारे निरन्तर निगरानी गर्नेछन् ।

यता मकवानपुरका ८ वटा मतदान केन्द्रका लागि मतपेटिका भने अन्य जिल्लाबाट ल्याउनुपर्ने बाध्यता रहेको छ । जिल्लाको पूर्वी क्षेत्र बकैया गाउँपालिकाको धियालस्थित ३ वटा मतदान केन्द्रका मतपेटिका रौतहट र बाराबाट ल्याउनुपर्ने अवस्था रहेको छ ।

त्यसैगरी राक्सिराङ गाउँपालिकाको काँकडा क्षेत्रका ५ वटा मतदान केन्द्रका मतपेटिका चितवनको भण्डाराबाट ल्याउनुपर्ने व्यवस्था गरिएको छ । यस सम्बन्धमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार पूर्ण सुरक्षा व्यवस्थासहित मकवानपुरमा निर्वाचन सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण प्रशासनिक तथा सुरक्षा संयन्त्र परिचालन गरिने जनाइएको छ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा तीन हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् ।

दुई वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लाको ३७४ मतदान केन्द्रमा स्वयं सेवकसहित तीन हजार ३६६ कर्मचारी निर्वाचन अवधिमा  खटिने भएका हुन् ।

बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले एउटा मतदान केन्द्रमा आयोगबाट छ जना कर्मचारी र मतदान केन्द्र रहेको स्थलमा तीन जना स्वयं सेवक नियुक्त गरिने जानकारी दिनुभयो ।

निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको भन्दै उहाँले निर्वाचन कार्यालयबाट दुई २४४ जना र मतदान केन्द्रमै नियुक्त हुने स्वयम् सेवक एक हजार १२२ जना कर्मचारी मतदान अवधिभर परिचालन हुने बताउनुभयो ।

उहाँका अनुसार यसबाहेक निर्वाचनमा निर्वाचन स्थलको संवेदनशीलता र आवश्यकताका आधारमा निर्वाचन प्रहरी परिचालन हुने छन् ।

४० वटा वडा रहेको मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ६२ वटा मतदान स्थल र १७८ वटा मतदान केन्द्र रहेका छन् । ६२ वटा वडा रहेको क्षेत्र नम्बर २ मा १०५ वटा मतदान स्थल र १९६ वटा मतदान केन्द्र छन् । यी मतदान केन्द्र बाहेक जिल्लाको पूर्व सदरमुकामस्थित भीमफेदी कारागारमा र कर्मचारीका लागि हेटौँडा अस्थायी मतदान केन्द्र रहने भएको छ । कति वटा मतदान केन्द्र रहने भन्ने निर्णय प्रक्रियामा रहेको प्रदेश निर्वाचन अधिकारी ढकालले बताउनुभयो ।

मकवानपुरमा कुल मतदाता तीन लाख १५ हजार ३३४ कायम भएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष ७९ हजार ६२१, महिला ७८ हजार ८१० र अन्य चार गरी एक लाख ५८ हजार ४३५ र क्षेत्र नम्बर २ मा ८२ हजार ३३२ पुरुष, ७४ हजार ५६६ महिला र एक अन्य गरी एक लाख ५६ हजार ८९९ मतदाता छन् ।

उहाँले निर्वाचनका लागि मसी, मतपेटिका लगायतका ५२ प्रकारका सामग्री पर्ने भन्दै केही सामाग्री कार्यालयमा रहेको र कतिपय सामान आयोगबाट व्यवस्थापन आउने क्रममा रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*