बागमती प्रदेशभित्र माटो परीक्षणलाई अभियानको रूपमा सञ्चालन गर्ने
हेटौंडा । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले प्रदेशभित्र माटो परीक्षणलाई अभियानको रूपमा सञ्चालन गर्ने घोषणा गरेका छन्।
चितवनको भण्डारामा आयोजित मन्त्रालय मातहतका कार्यालयहरुको आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री पौडेलले किसानहरूले लामो समयदेखि परम्परागत रूपमा एकै किसिमको बाली लगाउँदै आएका कारण उत्पादनमा ह्रास आएको औंल्याए। माटोमा अत्यधिक मात्रामा अम्लीयपन बढ्दै गएको छ, जसले उत्पादकत्व घटाएको छ, मन्त्री पौडेलले भने, अब माटो परीक्षणलाई अनिवार्य र अभियानकै रूपमा अघि बढाइनेछ। परीक्षणले मात्र उत्पादन वृद्धिलाई वास्तविक सहयोग पुर्याउँछ।
त्यसैगरि मन्त्रालयले वितरण गर्दै आएको अनुदान प्रणालीमा ठूलो हेरफेर गरिने बताए । वितरणमुखी अनुदानले किसानलाई अल्छी बनाएको टिप्पणी गर्दै उनले अबदेखि उत्पादन, ब्याज अनुदान र नवयुवा लक्षित अनुदानलाई मात्र प्राथमिकता दिइने स्पष्ट पारे।
उत्पादनमा आधारित नभएका अन्य सबै प्रकारका अनुदानहरु अब बन्द गरिनेछन्, मन्त्री पौडेलले थपे, हाम्रो लक्ष्य वास्तविक किसानलाई प्रोत्साहन गर्ने र कृषिमा युवा सहभागिता बढाउने हो।
कार्यक्रममा मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीले प्रदेश सरकारको लगानीमा निर्माण भएको धुलोदुध कारखाना सञ्चालनका लागि ठोस कार्ययोजना मोडालिटी आवश्यक रहेको बताए। उनले कारखाना सञ्चालनको स्पष्ट मोडालिटी तयार गर्न दुग्ध विकास बोर्डका निर्देशकलाई निर्देशनसमेत दिए ।
मन्त्रालयको वित्तीय अवस्थाप्रति चासो व्यक्त गर्दै सचिव अधिकारीले कृषि निर्देशनालयको हालसम्मको वित्तीय प्रगति सन्तोषजनक नरहेको उनको भनाइ थियो।
मन्त्रालय मातहतका कार्यालयहरूको कुल ८६ करोड रुपैयाँ बेरुजु रहेकोमा पशुपन्छी तथा मत्स्य निर्देशनालयको मात्र ३८ करोड रुपैयाँ रहेकोले तत्काल प्रभावकारी काम गर्न निर्देशन दिएका छन् ।
भोलिसम्म चल्ने यस समीक्षा गोष्ठीमा बागमती प्रदेश मातहतका जिल्लास्थित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, तालिम केन्द्रका प्रमुखहरू र निर्देशनालयका प्रमुखहरूको उपस्थिति रहेको छ। गोष्ठीको पहिलो जिल्ला स्थित कार्यालय र निर्देशनालयहरूले आफ्नो अर्धवार्षिक प्रगतिको प्रतिवेदन प्रस्तुत गरेका थिए।







